१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

भूकम्प पीडितको व्यथाः दुर्इ अना जग्गामा तीनवटा घर, त्यही घरलार्इ पनि पहिरोको डर

–दुर्गा पुडासैनी

२८ असोज, काठमाडाैँ । २०७२ साल वैशाखको विनाशाकारी भूकम्पबाट अति प्रभावित जिल्लामा जसरी पुनर्निर्माणको काम भैरहेको छ त्यसैगरी कम प्रभावित जिल्लाहरूमा पनि पुनर्निर्माणको कामले गति लिइरहेको छ । भूकम्पपछिको पुनर्निर्माणलार्इ व्यवस्थित बसोबासको रूपमा अघि बढाउन सरकारले योजना बनाएपनि सबै ठाउँमा त्यो लागू भएको छैन । भूकम्पसँगै पहिरोको जोखिममा परेका वस्तीहरू अाज पुनर्निर्माणपछि पनि उस्तै जोखिममा रहेका छन ।

भूकम्प पीडितकोको अवस्था बुझ्न हामी गत साता स्याङ्जाको वालिङनगरपालिका वडा नम्बर ८ को दमैडाँडा पुगेका थियाैँ । भूकम्पले घरबार बिहीन भएकाहरू राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा पुन घरमा बस्ने अवस्था त बन्यो तर विगतदेखिनै पहिरो जोखिम रहेका स्थानमा बस्ती भएका कारण अाज पनि उनीहरू उत्तिकै जोखिमयुक्त बसोबास गरिरहेका छन ।

असोज मा हामी पुग्दा दमैडाँडाको सुकुमाया दर्जी भर्खर घँसको भारी लिएर अाइपुगिन । उमेरले ४५ वर्ष काटेकी सुकुमाया भारी बिसाउनेबित्तिकै हाम्रो सामू पीडा पोख्न थालिन । सुकुमायाले बहकिदैँ दैनिकीसँग भनिन्  ‘भूकम्प पीडितको नाममा सरकारले बल्लतल्ल् ५० हजार दियो त्यो पनि एक वर्ष बैंकमा राखेर दियो, ऋण गरेर घर त बनाइयो अहिले के–के नियम र कुन्नी के भनेर हामीलार्इ पैसा पनि दिएनन् । पैसा नदिने भनेर सुरूमै भनेको भए बरू हामी छाप्रोमा बस्थ्याैँ । सरकारले पैसा दिने अाशले पैसा खर्च गरेर यो एउटा घर बनायाैँ तर अहिले पैसा नै दिन मिल्दैन भन्दैछन।’

सम्पत्तिको नाममा जम्मा दुर्इ अाना जग्गा भएको दर्जी परिवार अहिले तीनवटा सानो परिवार बनेको छ। भूकम्प पीडितले पाउने अनुदान पनि पाउने अाशमा तीन वटा परिवराका लागि दुर्इ अाना जग्गामा छुट्टाछुट्टै तीनवटा घर पनि बने तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत पाउनुपर्ने अनुदान समेत उनीहरूले पाउन सकेका छैनन । भूकम्पसँगै काम गर्ने निकाय नभएको भन्दै बहाना गरे पनि स्थानीय सरकारहरू निर्माण भएको एक वर्ष बढी हुँदासमेत दर्जी परिवारले अनुदानबापत पाउनुपर्ने दोस्रो र तेस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।

ऋणै काढेर दर्जी परिवारले बनाएको घरमा फेरि पहिरोले अाँखा लगाएको छ । पहिरोका कारण नयाँ बनाएको घरमा समेत क्षति पुगेको छ ।  भिरालो जमिनमा बनेको घरमा पहिरो बसेर बर्षाको समयमा साह्रै दुःख भाेगेको सुकुमाया बताउँछिन । घर बनाएर सकिन नपनउँदै घर माथिबाट ठुलो पहिरो आएर घरको गाह्रो समेत भत्किएको छ । यद्यपी पहिरोमा परेर घाइते भएको परिवारका सदस्यहरूको नगरपालिकाले दिएको पाँच हजार रूपैयाँले उपचार गरेको उनी बताउँछिन । भएको दुर्इ अाना जग्गा पनि पहिरोको जोखिममा परेपछि सुकुमायाको  १५ जनाको परिवार झन पीडामा परेको छ ।

गरबीले पिल्सीएको दर्जी परिवारलार्इ भूकम्पले झनै गरिब बनायो । नगद अाम्दानीको स्रोत नभएपछि बालबालिका समेत पढ्न पाएका छैनन् । सरकारले निःशुल्क शिक्षा भनेर अनेकथरी नाटक गरी विद्यालय भर्ना अभियान चलाउँछ तर दर्जी परिवारका बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन । सुकुमाया दैनिक जीवनयापनलार्इ केही सहज बनाउनका निम्ति मेलापात गर्छिन । कतिपय अवस्थामा गाउँका साहुजनको घरमा घाँस काटिदिने काम गर्छिन र त्यसबाट पाएको ज्यालाले अाफूसँग भएका तीन जना बालबालिकालार्इ खुवाउँछिन ।

सुकुमाया दर्जी एउटी उदाहरणमात्र हुन । भूकम्पले अति प्रभावित भएका जिल्लाका पीडितको हालत पनि सुकुमायाको भन्दा फरक छैन । इन्जिनियर र स्थानीय तहका कर्मचारीले अनेक बहाना गरेर राहत रकम अड्काइरहेका छन । अहिले त अझ नक्सा पासको नाममा दिनुदुःख दिएका छन वालिङ दमैडाँडाकै चुनाकुमारी परियार बताउँछिन । उनी पीडितका हितमा कसैले काम नगरेको गुनासो पोख्छिन ।

वालिङ नगरपालिका वडा नम्बर ८ का का वडा अध्यक्ष कमल सुवेदी जोखिमयुक्त जग्गामा घर बनाएकाले राहत रकम दिन नमिलेको बताउँछन । सुवेदीले दैनिकीसँ भने ‘हामीले उहाँहरूलार्इ स्कुलमा व्यवस्थापन गर्न खोजेका थियाैँ तर मान्नु भएन । हामीले पनि पुनर्निर्माण प्राधिकरणको नियमलार्इ मान्नुपर्छ, अर्को जग्गा किनेर तत्कालै सार्न सक्ने अवस्था पनि छैन । हामीले उहाँहरूलार्इ तत्काल केही गर्न सक्दैनाैँ’

प्रधानमन्त्री केपी शर्मा अोली र  पुनर्निर्माण प्राधिकरणका सिइअोले पटक पटक भूकम्प पीडितलार्इ सहज हुने गरी राहत अनुदान उपलब्ध गराउन निर्देशन दिए र सोही अनुसार प्राधिकरणले परिपत्र  पनि गर्यो तर पीडितको समस्या जस्ताको त्यस्तै रहेको छ ।

(स्याङ्जाबाट फर्केर दुर्गा पुडासैनी)

प्रकाशित मिति : २८ आश्विन २०७५, आईतवार १४:४५