१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

अर्थतन्त्रमा सुधारको संकेत, ११ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति

२७ वैशाख, काठमाडाैं । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार हाल ११ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको छ।

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भइ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ चैत मसान्तमा २०.६ प्रतिशतले वृद्धि भई रु.१२७३ अर्ब ९९ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ चैत मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई रु.१५९ अर्ब ७४ करोड पुगेको छ । २०७९ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।

२०७९ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २६.६ प्रतिशत, ७८.९ प्रतिशत र २४.४ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति : May 10, 2023 at 12:58 pm