२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

लुम्बिनीसँगै कपिलवस्तुको समग्र क्षेत्रलाई समेटेर विकास गर्छौः प्रधानमन्त्री प्रचण्ड

२२ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीसंगै कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको समग्र क्षेत्रलाई समेटेर विकास गरी स्थानीयवासीलाई त्यसकोे प्रतिफल दिने बताएका छन् ।

शुक्रवार २५६७औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मूल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै उनले सरकार वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेकोले लुम्बिनीसंगै कपिलवस्तु, देवदह, रामग्रामलाई समेटेर वृहत्तर लुम्बिनीको रुपमा विकास गर्ने उनले बताए ।

‘अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा संघ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउन भगिरथ प्रयत्न गर्नेछ ।’उनले भने ।
त्यस्तै,प्रधानमन्त्रीले तिलौराकोट पनि विश्व सम्पदा सूचीमा सूचीकृत हुने क्रममा रहेको बताए। क्रान्ति र शान्ति एक अर्काका पूरक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वले बुद्धका शिक्षाहरूबाट प्रभावित भएर देश र जनताको सार्वभौम हितका निम्ति अनुशरण गरेको समेत जिकिर गरे ।

प्रधानमन्त्री दाहालले भने‘विस्तृत शान्ति सम्झौतामार्फत् क्रान्ति र शान्तिलाई एकअर्काको परिपुरकका रूपमा व्यवहारसिद्ध गर्नु तथा राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणको सफल नेतृत्व गर्नुले बुद्धका शिक्षाहरूबाट हामी प्रभावित मात्र होइन, हाम्रो विशिष्टता र मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुशरणसमेत गरिरहेका छौँ ।’

उनले पूर्वीय सभ्यता, दर्शन र चिन्तन परम्पराका दृष्टिले नेपाल वैशवशाली र गौरवशाली दुबै रहेको उल्लेख गर्दैकिराँत दर्शन, बुद्ध दर्शन, षड्दर्शन लगायतका नेपाली दर्शनहरूमा भौतिकवादी चेत, गतिको नियम, नैतिक शिक्षा र जीवन मूल्यका अनगिन्ती आयामहरू रहेको चर्चा पनि गरे ।

प्रकाशित मिति : May 5, 2023 at 12:39 pm