२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

पोलमा राखिएको तारको व्यवस्थापन गर्न कसैले सहयोग गरेनन्ः मेयर साह

२२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पोलहरुमा तारको अवस्था सुधारको लागि आवश्यक कानून बनाउन आग्रह गरेको पनि कसैले चासो नदेखाएको गुनासो गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयरले अव्यवस्थित तारले भौतिक रुपमा शहरलाई अव्यवस्थित बनाउनुको साथै आगलागीको जोखिम पनि बढाउने हुनाले यसलाई व्यवस्थित गर्नु आवश्यक भएको बताए ।

उनले भने, शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिक रुपमा तिनले शहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन् । गत बर्ष मात्रै अव्यवस्थित तारहरुको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ । यसलाई व्यवस्थित बनाउन, एकीकृत विकासका लागि सम्बन्धित कानून बनाउन आग्रह गरेको धेरै भइसकेको थियो ।

मेयर बालेनले १५ दिनपहिले सडकको पोलमा रहेको तारको व्यवस्थापनगर्न सूचनाजारीगर्दा पनि इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारण देखाएर यस्तो कार्य नगर्न आदेश जारी गरेको भन्दै गुनासो गरेको छन् ।

उनले भने, त्यसतिर कुनै सुनुवाइ नभएर हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ । यसबीच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसको विपरित त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो ।

व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडाैं महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर रहेको पनि पनि मेयर साहले उल्लेख गरेका छन् । उनले समस्यालाई यथावत राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न नसक्ने भन्दै शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि महानगर क्रियाशील रहेको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १२:१९