१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

आज अन्तर्राष्ट्रिय श्रमिक दिवसः विभिन्न कार्यक्रम गरी देशैभरि मनाइँदै

१८ वैशाख, काठमाडाैं । आज एक सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ तय गरेको छ ।

दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाल तथा विश्वभर छरिएर रहेका श्रमिकलाई शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना दिँदै भनेका छन्, “कामका खोजीमा विदेशिएका नेपाली श्रमिकको रोजगार थप, सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाइनेछ । स्वदेश तथा विदेशमा श्रम गर्ने श्रमिकको हक, अधिकार, सुविधा, र असल सम्बन्ध सुनिश्चित गर्न सरकार निरन्तर लागि गरेको छ ।”

यसैबीच श्रमिक संघ संगठनले श्रम हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । नेपाल टुेड युनियन महासङ्घ (जिफन्ट)ले भने ‘हाम्रा अधिकार खोसिँदैछन्, सङ्गठित हाैँ, प्रशिक्षित हौँ र परिचालित हौँ’, नारा तय गरेको छ । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकले लामो सङ्घर्षबाट प्राप्त गरेको अधिकार खोसिँदै गएको गुनासो गर्नुहुन्छ ।

उनले भने, “हामीले श्रम ऐन, सामाजिक सुरक्षा धेरै कुरा प्राप्त गर्यौँ तर पछिल्लो समय प्राप्त गरेका यी अधिकार खोसिएको महसुस भएको छ । त्यसैले यस वर्षको नारामार्फत सङ्गठित हाँै, प्रशिक्षित हौँ र परिचालित हुनलाई आह्वान गरेका हौँ ।” नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको थियो ।

प्रकाशित मिति : May 1, 2023 at 9:17 am