आईएमई लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
१३ वैशाख, काठमाडाैं । आईएमई लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । आईएमईले आफ्नो १ अर्ब रुपैयाँ जारी पुँजीको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँबराबरको १० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। यसैबीच कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको छ।
काठमाडाैंकाे पानीपोखरीस्थित आईएमईको मुख्यालयमा आज आयोजित कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरुमध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक–पटक ‘ठूला करदाता सम्मान’बाट आईएमई पुरस्कृत भएको छ।
आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ ।
प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १०:५२












