२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

डडुवा, रानीटार र झुलेटारमा फस्टायो तरकारी खेती


५ बैशाख, चौतारा । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरीले तरकारी खेतीबाटै राम्रो आम्दानी गर्दै आएका छन् । “म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिए, अहिले यो तरकारी खेतीबाट राम्रै आम्दानी भएको छ”, गोलभेँडा टिप्दै डडुवाकी मीना नेपालले भनिन ।

दुईचार पैसाका निम्ति निकै कष्ट भोग्नुभएको नेपाललाई अहिले तरकारी व्यवसायबाट राम्रो आम्दानी मिलेको छ । गोलभेँडा बेचेर यो वर्ष सात लाख घर भित्रिने उनको अनुमान छ । अहिले उनीले चार रोपनी बारीमा गोलभेँडा रोप्नुभएको छ । उनीले  भन्छिन, “श्रीमान शिक्षक, बालबच्चा विद्यालय जान्छन्, सासूससुरा काम गर्न सक्नुहुन्न । रेखदेख मेरै हो, बिदाको समयमा सहयोग गर्नुहुन्छ ।” खेताला, बीउबिजन, औषधि गर्दा डेढ लाख जति लगानी परेको छ ।

हरेक दिन दिउँसो ४ बजेपछि डडुवा, रानीटार र झुलेटारबाट साँगाचोक हुँदै गोलभेँडा बोकेर दैनिक पाँचदेखि ११ वटासम्म गाडी काठमाडाैँ जान्छन् । गाडी लिएर किसानको गोलभेँडा लिन व्यापारी गाउँमा नै आउँछन् ।

यो क्षेत्र समुन्द्री सतहबाट एक हजार चार सय मिटरको उचाइमा छ । दक्षिणपट्टि फर्केको जमिन, रातो र कालो मिसिएको माटो तरकारीका लागि उर्वर मानिन्छ । सामान्य रुपमा गोलभेँडा रोपेका परिवारले पनि यो समय कम्तीमा एक लाख आम्दानी गरेको राम तामाङ बताउछन ।

धेरै क्षेत्रफलमा गोलभेँडा लगाउँदै आएका उद्धव नेपालको परिवारले २० लाखको बेचिसकेको छ । अहिले गोलभेँडा र काउली मात्र भए पनि यामअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका डडुवाका स्थानीय किसानले तरकारी बेचेर मनग्य आम्दानी भित्र्याउने गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाले यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि व्यवसाय फस्टाउँदै गएको छ । तरकारी बिक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ । किसानले खर्च कटाएर बचेको पैसा बचत गर्न थालेको नेत्रज्योति कृषि सहकारी संस्थाका प्रबन्धक नेत्रबहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १३:०४

https://srdb.com.np/