७ असार २०८३, आइतबार | Sun Jun 21 2026

जीवन बीमाका लागि ५ र निर्जीवन बीमाका लागि ५० लाखको सीमा निर्धारण

२७ चैत, काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमाको सीमा निर्धारण गरेको छ । प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ जारी गरी लघु बीमाको व्यवसाय निर्धारण गरेको हो ।

प्रधिकरणले जारी गरेको निर्देशन अनुसार लघु जीवन बीमा कम्पनीले ५ लाख रुपैयाँ सम्म र निर्जीवन लघुबीमा कम्पनीले ५० लाख रुपैयाँसम्को बीमा गर्न पाउने भएका हुन् । लघुबीमा व्यवसायको विकास, प्रवर्धन तथा व्यवस्थापन गरी बीमामार्फत न्यून आय वर्गको जीवन तथा सम्पत्तिको सुरक्षा गर्न बीमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ जारी गरेको हो ।

लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले घर, सम्पत्ति तथा व्यवसाय लघुबीमा र इन्जिनियरिङ लघुबीमाको सीमा ५० लाख रुपैयाँ बीमांक तोकिएको छ । दायित्व तथा मौद्रिक क्षति लघुबीमा र अन्य लघुबीमाको सीमा ५ लाख रुपैयाँ तोकिएको छ ।

तर, नेपाल राष्ट्र बैंक र नेपाल सरकारद्धारा अनुदान तथा ब्याज अनुदान प्राप्त कर्जाको बीमांक कर्जाको सीमासम्मको दायित्व रहेने प्राधिकरणको जनाएको छ ।

यस्तै, मोटर लघुबीमाअन्तर्गत ट्रेलर, ट्याक्टर, थ्रेसर, मोटरअन्तर्गत पर्ने कृषि उपकरण, मोटरसाइकल, ट्राइसाइकल, मापेड, ट्याम्पु, रिक्सा, ठेलागाडा मात्रैको बीमा गर्न सकिनेछ ।

बीमकले टेलिकम, इन्टरनेट सेवाप्रदायक, भुक्ताी सेवाप्रदायक, स्टोर, होटल, रेस्टुराँलगायतका आपूर्ति शृंखलामा आबद्ध संगठित संस्थाहरुसँग सहकार्य गरी लघुबीमा जारी गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : April 10, 2023 at 2:59 pm