३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन चैत २५ र २६ मा हुने

१७ चैत, काठमाडाैं । अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौंमा हुने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एमाले निकट महिला सङ्गठन अनेमसंकी सचिव सूचिता शाक्यले राष्ट्रिय आगामी तीन वर्षका लागि नेतृत्व चयन गर्दै नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम गरी सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिइन् ।

उनले यो सम्मेलनपछि सङ्गठन निर्माण र सुदृढीकरणका लागि अभियान नै सञ्चालन गरेर सङ्घको तीन वर्षे कार्यकालमा पाँच लाख सदस्यता विस्तार गर्ने दाबी गरिन् । सङ्गठित सदस्य सङ्ख्या एक लाख पुर्याउने लक्ष्य रहेको उनले बताइन् ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न तथा सङ्गठन बलियो बनाउन यो राष्ट्रिय सम्मेलन फलदायी हुने जनाएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान, समान सहभागिताका लागि सुदृढ सङ्गठन भन्ने’ नाराका साथ सम्पन्न हुने सम्मेलनका लागि २३ बुँदे कार्य योजना अघि सारिएको सचिव शाक्यले बताइन् ।

उनले भनिन् ‘स्वदेशी उत्पादन हामी आफैँले प्रयोग गर्ने,आत्मनिर्भर अर्थतन्त्रको लागि योगदान पुर्याउने,राष्ट्रिय आयमा वृद्धि गर्ने,जस्ता विषयलाई लिएर हामीले आफ्नो उत्पादन आफैँ प्रयोग गरौँ भन्नका लागि अभियान चलाएर साना तथा घरेलु उद्योगको विकास गर्न अभियान नै सञ्चालन गछौं ।’सम्मेलनमा देशभरिका विभिन्न कमिटीमा आबद्ध रहेका ६३ हजार सदस्यको प्रतिनिधित्व गर्दै एक हजार दुई सय ६२ जना प्रतिनिधि सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यस्तै, सम्मेलन अघि अनेमसंले साताव्यापी रूपमा विभिन्न रचनात्मक कार्य गर्ने बताएको छ । जसमा शनिवार बागमती सफाइ कार्यक्रम गर्ने, आइतबार वृद्धाश्रममा फलफूल वितरण गर्ने देखि लिएर चैत २७ गते घोषणा पत्र सार्वजनिक गर्ने सम्मको कार्यक्रम समेटिएका छन् ।

प्रकाशित मिति : 17:11