३ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026

छुवाछूत तोड्न समाजका सबै तप्काबाट जागरण अभियान चलाउनु आवश्यकः अध्यक्ष ओली

७ चैत, काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन् ।

आज ५८औा अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जातिय छुवाछूत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताए ।

“कानूनरुपमा बर्जित भएपनि छुवाछूत जस्तो अमानवीय प्रथा पूर्णरुपमा अन्त्य हुनसकेको छैन । यसलाई तोडनका लागि समाजका सवै तप्काबाट जागरण अभियान चलाउनु आवश्यक रहेको छ”, उनीद्वारा जारी सन्देशमा भनिएको छ । उनले पार्टीले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रुपमा आत्मसात गरेको समेत बताएका छन् ।

अध्यक्ष ओलीले एमाले जात, जाति, वर्ग, वर्ण, लिङ्ग, धर्म, सस्कृतिलगायतका आधारमा गरिने विभेद र शोषणको विरुद्ध लड्दै आएको पार्टी रहेको उल्लेख गर्दै एमालेको सरकारले छुवाछूतबाट पीडित र प्रताडितको आर्थिक सवलिकरण र समाजिक मर्यादाका लागि नीतिगत सुधारमा नेतृत्वदायी भूमिका खेलेको बताएका छन्।

“आवासविहीन दलित र भूमिहिनका लागि आवास र भूमिको व्यवस्था गर्ने काम एमालेको सरकारले अघि बढाएको थियो”, सन्देशमा उनले भनेका छन्, “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न जातीय आधारमा हुने सबै प्रकारका विभेद, कुरीति, अन्धविश्वास अपराध, बहिष्करण, बञ्चितिकरण र हिंसा अन्त्य गर्नुपर्दछ ।”

त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मानव सभ्यता विकासका लागि जातीय विभेद र छुवाछूत बाधक रहेकाले यस्ता विकृतिका अन्त्य गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले छुवाछूत र जातीय हिंसाविरुद्ध सबै एकजुट भएर सामाजिक न्याय, समानता, स्वतन्त्रताका माध्यमबाट शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने उल्लेख गरेका छन् ।  ।

उक्त सन्देशमा शिष्ट र सभ्य समाज निर्माणका लागि जातीय हिंसा, छुवाछूतजस्ता विसङ्गतिको अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । नेपाली समाजलाई यस्ता हिंसा र विभेदबाट मुक्त गरी समानता कायम गर्न आफ्नो पार्टीले लामो समयदेखि राजनीतिक गतिविधि गरेको भन्दै जातीय हिंसालगायत विकृतिविरूद्ध चेतनामूलक अभियानको खाँचो औँल्याइएको छ ।

संयक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो । यो दिवस भने सन् १९६६ देखि प्रत्येक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : March 21, 2023 at 11:38 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/