१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय


६ चैत, काठमाडाैं। मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फको पाँचजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

उनिहरुलाई फागुन २६ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार पाँच डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा आज मन्त्रिपरिषद्ले बढुवा गर्ने निर्णय गरेको हो ।

गृहसचिव विनोदप्रकाश सिंहले मन्त्रिपरिषद्बाट बढुवा गर्ने निर्णय भई आइसकेको र आजै नियुक्तिपत्र प्रदान गर्ने जानकारी दिए । यसरी एआइजीमा बढुवा हुनेमा मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी बसन्तबहादुर कुँवर, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी टेकप्रसाद राई, बागमती प्रदेश प्रहरी कार्यालका प्रमुख डिआइजी दीपक थापा, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी श्यामलाल ज्ञवाली र प्रहरी प्रधान कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा रहेका डिआइजी किरण बज्राचार्य छन् ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह चैत ११ गते अनिवार्य अवकाशमा जाने हुँदा बढुवा भएकामध्ये एकजना एआइजीलाई सरकारले प्रहरी महानिरीक्षक (आइजिपी)मा पदोन्नति गर्नेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १७:५१