मलमा दिएको अनुदान कटौति किसान माथिको अन्याय होः महासचिव पोखरेल
५ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले, वर्तमान सरकार किसान प्रति निर्दयी बनेको आरोप लगाएका छन् । कृषि तथा पशुपंक्षी विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सरकारले किसानहरुलाई निरुत्साहित गर्ने काम गरेको आरोप लगाएका हुन् ।
अन्तराष्ट्रिए बजारमा रासायनिक मलको मूल्य घट्दा पनि सरकारले मूल्य समायोजन नगरेको भन्दै उनले यो सरकारले किसानलाई निराश बनाएको बताए । उनले भने, ‘सरकारले रासायनीक मलको मूल्य वृद्धि गर्ने काम गरेको छ ।त्यो अनुचितछ । नेपालको आर्थिक क्षेत्रको विकासका लागि राज्यले विशेष प्रकारका प्रोत्साहन गर्नु आवश्यक छ । अन्य क्षेत्रको अनुदान कटाएर कृषि क्षेत्रमा राख्नु पर्छ । भविष्यमा आर्थिक क्षेत्रको विकास गर्नको लागि पर्यटनको कल्पना गर्दै गर्दा स्वस्थ खाना मुलुक मै उत्पादन हुन आवश्यक हुन्छ ।’
उनले एमालेको सरकारले विदेशबाट आयात हुने कृषिजन्य सामानमा विषादी परीक्षण गर्ने गरेको प्रस्तावलाई वर्तमान सरकारले रोक लगाएको भन्दै यसबाट नयाँ सरकार कस्तो रहेछ भन्ने कुरा स्पष्ट भएको तर्क गरे । ‘प्रचण्डको नेतृत्वको सरकार आइसकेपछि नेकपा एमाले अन्तर्गत रहेको कृषि मन्त्रालयले विदेशबाट आयात हुने कृषिजन्य सामानमा विषादी परीक्षण गर्ने प्रस्ताव मन्त्री परिषद्सम्म पुगे पनि रोक्ने काम गरेको छ । विषादी परिक्षण रोक्ने रासायनीक मलको मूल्य वृद्धि गर्ने यस्तो कार्यबाट देश आत्मनिर्भर हुन सक्दैन् ।’
वर्तमान नेपाल सरकारको रासायनिक मलमा अनुदान कटौतीको निर्णयबाट सरकार स्वदेशी उत्पादनलाई निरूत्साहित गरी भारतीय कृषिउपजको व्यापार बढाउन उद्यत रहेको प्रष्ट भएको उनको धारणा छ । मलको मूल्यबृद्धि गर्दा उत्पादन लागत बढ्ने र उत्पादित कृषि उपजहरूको अत्यधीक मूल्य बृद्धि हुने हुँदा स्वदेशी भन्दा विदेशी उत्पादन सस्तो पर्न गई कृषि उपजमाथिको पर निर्भरता बढाउने तर्फ सरकार लागि परेको प्रष्ट देखिएको उनले बताए ।
प्रकाशित मिति : 16:15









