चैत ८ गतेबाट आईपीओ निष्काशन गर्दै सगरमाथा जलविद्युत कम्पनी
३० फागुन, काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेकाे हाे ।
कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि बिक्री गरिसकेको छ।
बाँकी रहेको सेयमध्ये ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
उक्त आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि छिटोमा चैत १२ गतेसम्म र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : March 14, 2023 at 10:56 am


