१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

यी हुन् उच्च लाभांश दिने कम्पनी, हेर्नुहोस् कुनका लगानीकर्ताले कति पाए ?

२८ फागुन, काठमाडौं । तपाईं कुनै पनि कम्पनीको सेयर किन किन्नुहुन्छ ? पक्कै पनि जुन कम्पनीले बढी प्रतिफल दिन्छ त्यो कम्पनी नै सबैकाे रोजाईमा पर्छ । साधारणतया प्रतिफलका २ प्रकार छन् । पहिलो कम्पनीले प्रत्येक वर्ष लाभांश मार्फत् दिने प्रतिफल र दोस्रो सेकेन्डरी मार्केटमा सर्ट टर्म काराेबार गर्दा हुने प्रतिफल ।

लगानीकर्ताका लागि आकर्षक कम्पनी हेर्दा प्राय उक्त कम्पनीले दिने लाभांशलाई नै हेरिने गरिन्छ। जुन कम्पनीले लगानीकर्तालाई सर्वाधिक लाभांश दिने गरेका छन्, दोस्रो बजारमा साेही कम्पनी नै सबैकाे राेजाइमा पर्ने गरेकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत अधिकांश कम्पनीले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेर धमाधम पारित गर्दैछन्। नेप्सेमा २५० कम्पनी सूचीकृत भएर सेयर कारोबार भइरहेका छन् । यी २५० कम्पनीलाई नेप्सेले १३ वटा समूह वर्गीकरण गरेको छ । आज हामीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई सबैभन्दा धेरै लाभांश घोषणा गर्ने कम्पनीहरुको चर्चा गर्न गइरहेका छौं ।

१३ वटा समूहमा सूचीकृत कम्पनीहरुमा गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्ने जाल्पा सामुदायिक लघुवित्त, नबिल बैंक, गरिमा विकास बैंक, आइसीएफसी फाइनान्स, सोल्टी होटल, रिडी पावर कम्पनी, एचआईडिसीएल, यूनिलिभर नेपाल, सानिमा इक्विटी फण्ड, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल दूरसञ्चार कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशन रहेका छन् ।

लघुवित्त समूहमा सबैभन्दा धेरै नाफा दिने कम्पनीमा जाल्पा लघुवित्त वित्तीय संस्था रहेकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद गरी कूल ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जुन राष्ट्र बैंकबाट अझै स्वीकृत हुन सकेको छैन। अधिकांश लघुवित्तको लाभांशमा राष्ट्र बैंकले कैची चलाउदै संशोधन गरेकोले जाल्पाको पनि सेयरधनीका लागि प्रस्ताव गरेको लाभांश घट्न सक्छ।

वाणिज्य बैंक समूहबाट गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा नबिल बैंक रहेकाे छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको छ ।

विकास बैंक समूहमा गरिमा विकास बैंकले त आर्थिक वर्षकाे नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गरेकाे छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गरेको हो ।

वित्त (फाइनान्स) समूहबाट आईसीएफसी फाइनान्सले सबैभन्दा धेरै लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको हो ।

होटल एण्ड टुरिजम समूहबाट सेयरधनीका लागि सोल्टी होटलले सबैभन्दा धेरै लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र २१.३१ प्रतिशत नगद गरी कूल २६.३१ प्रतिशत लाभांश वितरण गरेको हो ।

जलविद्युत समूहबाट रिडी पावर कम्पनीले सबैभन्दा धेरै लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र २.१ प्रतिशत नगद गरी कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेको हो ।

इन्भेष्टमेन्ट समूहबाट सबैभन्दा धेरै हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)ले वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश वितरण गरेको हो ।

म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहबाट सबैभन्दा धेरै युनिलिभर नेपालले लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १ हजार २१५ प्रतिशत नगद  लाभांश वितरण गरेको हो ।

म्युचुल फण्ड समूहबाट सबैभन्दा धेरै सानिमा इक्विटी फण्डले लाभांश वितरण गरेको छ। फण्डले गत वर्षको नाफाबाट इकाईधनीहरुलाई २२ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

निर्जीवन बीमा समूहबाट शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर र ०.८४२१ प्रतिशत नगद गरी कूल १६.८४२१ प्रतिशत लाभांश वितरण गरेको हो ।

अन्य समूहबाट नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)ले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

ट्रेडिङ्ग समूहबाट साल्ट ट्रेडिङ्ग कर्पोरेशनले मात्रै गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने पस्ताव भएको हो । जीवन बीमा समूहमा सूचीकृत कम्पनीहरुले भने गत वर्षको नाफा हालसम्म वितरण गर्ने घोषणा गरेका छैनन् ।

प्रकाशित मिति : March 12, 2023 at 9:48 am