१२३ रुपैयाँ रहेकाे प्रभु बैंकको सेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?
२६ फागुन, काठमाडाैं । प्रभु बैंकको संस्थापक सेयर लिलामीमा आवेदन दिने म्याद थप गरिएको छ। बैंकले गत फागुन १२ गतेदेखि ४६ लाख ७४ हजार ३९६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो।
उक्त सेयरमा आज फागुन २६ गते बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिने थियो। तर आवेदन दिने म्याद थप गर्दै अब उक्त सेयरमा चैत ५ गतेसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।
उक्त लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य इच्छुक सर्वसाधारण लगानीकर्ता र संस्थाले आवेदन दिन सक्नेछन्। लगानीकर्ता न्यूनतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। अधिकतममा भने कुनै हद लाग्ने छैन।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२३ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
सेयर खरिदका लागि बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडाैंक कमलादीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।
प्रकाशित मिति : March 10, 2023 at 1:17 pm









