२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

वासु शशी पुरस्कार र सम्मान हिरण्य भोजपुरे, श्यामल र डा. गोपीकृष्णलाई प्रदान गरिने

१५ फागुन, भक्तपुर । वासु शशी स्मृति परिषदले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई “वासु शशी साहित्य सम्मान २०७९” प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी साहित्यकार श्यामललाई नगद राशी २५,०००/- र सम्मानपत्रसहित “वासु शशी साहित्य पुरस्कार २०७९” प्रदान गर्ने निर्णय गरेको छ ।यसैगरी अनुसन्धानकर्ता उप-प्राध्यापक डा. गोपीकृष्ण खतिवडालाई नगद राशि २१,०००/- र सम्मानपत्रसहित “वासु शशी पुरस्कार २०७९” प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।

“वासु शशी साहित्य सम्मान”बाट सम्मानित वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेका उपन्यासहरु “छिटेन”, “मेरी आमै” र “मेरी आमा ओ आमा”, कथाकृतिहरु “चौबाटोको चारैतिर”, “जँघारहरु” र “रङ्गहरु”, निबन्धकृति “नेपाली गीत-सङ्गीतका केही रङ्ग केही तरङ”, संस्मरणकृति “अमेरिका ओ अमेरिका”, गीतसङ्ग्रह “म गीतभित्र”, बालकवितासङ्ग्रह “मेरो मन मेरो माटो” तथा “सगरमाथाभन्दा माथि” आदि प्रकाशित रहेका छन् ।

“वासु शशी साहित्य पुरस्कार”बाट सम्मानित कवि श्यामलका कविता सङ्ग्रहहरु “तपाईंहरू मार्फत्”, “लयव्रह्म”, “हतारमा यात्रा”, “कविले रोजेका कविता” (श्रव्य सिडी) र निबन्ध संग्रह: “रित्तो गाउँ”, तथा अनुवाद कृति गाब्रियल गार्सिया मार्खेजको उपन्यास “अभागी कर्नेल” आदि प्रकाशित रहेका छन् ।

“वासु शशी शाेध पुरस्कार”बाट सम्मानित अनुसन्धानकर्ता उप-प्राध्यापक डा. गोपीकृष्ण खतिवडाले नेपाल संस्कृत विश्वविद्यालयबाट ‘वासु शशीका नाटकमा नाट्यतत्व’ शीर्षकमा विद्यावारिधी गरेका हुन् ।

वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८७ औं जन्मजयन्ती आगामी चैत १३ गते आयोजना गरिने कार्यक्रममा सबै सम्मान प्रदान गरिने परिषद्का सचिव प्रधुम्न जोशीले जारी गर्नु भएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

वासु शशी साहित्य पुरस्कारबाट यस अघि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, सैलेन्दुप्रकाश नेपाल, ईन्दिरा प्रसाई, राधेश्याम लेकाली र माेमिला पुरस्कृत भइसकेका छन् ।

यसैगरी वासु शशी साहित्य सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त, डा. मोहनहिमाशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य र शैलेन्द्र साकार, सम्मानित भइसकेका छन् ।

प्रकाशित मिति : February 27, 2023 at 3:02 pm