४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तन गर्नुपर्छः सञ्चारमन्त्री शर्मा

१५ फागुन, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको बताएकी छिन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को आज कार्यालय निरीक्षण तथा भेटका क्रममा उनले ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भए पनि पर्याप्त कानुन नभएकाले आफू कानुन निर्माणमा केन्द्रित भएको बताएकी हुन् ।

उनले नेपाली समाज धेरै अगाडि बढे पनि कतिपय क्षेत्रमा पञ्चायतकालीन कानुन रहेकाले त्यसको परिवर्तन गर्र्नुपर्नेमा जोड दिइन् । सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले नेपालको परिवर्तन र जागरणमा रेडियोको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै अब सङ्ख्यामा भन्दा गुणस्तरीय सामग्री निर्माणमा जोड दिन आग्रह गरिन् ।

अहिले समाजमा पर्याप्त कानुनी चेतनाको अभावमा बहुविवाह, छुवाछुतजस्ता जघन्य अपराध भइरहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमले कानुन साक्षरतामा सहयोग पुग्ने सामग्री निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

कोराबका अध्यक्ष अर्जुन गिरीले सङ्घीय कानुन निर्माण गरी सामुदायिक रेडियोमा सहजीकरण गरिदिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएका थिए । सो क्रममा मन्त्री शर्माले सामुदायिक सूचना नेटवर्क (सिआइएन)को पनि निरीक्षण गरेकी थिइन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १३:२०