३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

सत्ता केन्द्रित फोहाेरी खेलले मुलुक अस्थिरतातर्फ धकेलियाेः कमल थापा

१४ फागुन, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहाेरी खेलका कारण मुलुक अस्थिरता तर्फ धकेकिएकाे बताएका छन् ।

काठमाडौंमा आज पार्टी सम्वद्ध भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले प्रश्न गरे, ′चुनावअघि एउटा गठबन्धन, चुनाव पछि अर्को गठबन्धन, दुई महिनाको बीचमै फेरि अर्को गठबन्धन ,यस्तो राजनितीले मुलुकलाई कता लैजान्छ ?‘

थापाले जनतामा वितृष्णा मात्र नभई दल र नेताहरुप्रती घृणा उत्पन्न भएको समेत बताए । विकल्पका रुपमा देखिएका राजनीतिक दलहरु शक्ति र पैसा केन्द्रित हुँदा जनतामा निराशा थपिएकाे उनकाे टिप्पणी थियो ।

राप्रपा नेपाल प्रती सकारात्मक धारणाको विकास भैरहेको भन्दै थापाले जनता र संगठन केन्द्रित हुन भातृ संगठनका पदाधिकारीहरुलाई आग्रह गरे । कार्यक्रममा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला र केशवराज श्रेष्ठले जनवर्गिय संगठनको कृयाशिलता र भावी कार्यक्रमबारे बोलेका थिए । भातृ संगठनका अध्यक्षहरुले आफ्नो-आफ्नो संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : February 26, 2023 at 3:36 pm