३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

राष्ट्रपतिमा नेम्वाङलाई मत माग्दै केपी ओलीले लेखे माधव नेपाललाई पत्र

१३ फागुन, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा सहयोग गर्न माग गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पत्र पठाएका छन् । पत्रमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार भएका सुवास नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरिएको छ।

पार्टीका उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएलगत्तै एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई शनिबार औपचारिक पत्र पठाएका हुन् ।

‘आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार हाम्रो पार्टीका तर्फबाट माननीय सुवासचन्द्र नेम्वाङलाई यही २०७९ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन गरिएको छ,’ ओलीले पठाएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ। राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु।’

प्रकाशित मिति : February 25, 2023 at 7:09 pm