२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

-लक्ष्मण सिटाैला

यो ध्रुवसत्य कुरा हो कि भेटिए पछि छुट्टीनु पर्छ । देखिएका दृश्यहरु आँखामा सदा रहिरहदैनन। अझै सुरम्य नदी, ताल, झर्ना, पहाड र हिमाललाई आखाभरी भरिरहन मन लाग्छ । तर ! अपशोच कति छिटो परेलीको रुमानी भएर खस्छन आखाको अञ्जुलीबाट। एक झिमिक हो प्रेमको बिपुलता र आनंदको झन्कार।कतिबेला टुट्छ प्रेमको तार अनि कतिबेला छुट्छ कालीगण्डकीको धार पत्तो हुदैन ।माछापुच्छ्रेको स्वतन्त्र स्वरुप फेवामा त्यतिबेला मात्रै बिलुप हुन्छ जतिबेला फेवाको आँसु धमिलिन्छ। जवसम्म फेवा आफ्नो कायालाइ कन्चन राख्छे जतिबेलासम्म फेवाको पवित्र पानीमा धमिलोले अतिक्रमणको गर्दैन तवसम्म मात्रै फेवाको मुहारमा माछापुच्छ्रेले आफ्नो बिम्ब देख्छ।

वास्तवमा प्रेमको सम्बन्ध पनि त्यस्तै हो जस्तो हो फेवा र माछापुच्छ्रेको सम्बन्ध । जुन दिन सम्बन्ध धमिलिन्छ अनि प्रेमको तार पनि टु्टछ, माया र बिश्वासको धुन पनि हराउँछ । खोइ कहाँ हराउँछ कुन्नी !। खोइ कहाँ बिलाउछ? त्यसपछि सम्झनाको सियोले घोचिरहन्छ छाती । कालान्तरमा, त्यो बिछोडको पीडाको खत पनि मेटिदै जान्छ ।जस्तो बर्षामा पहाडको छातीमा उडिरहेको बादल पानी परेपछि आफै हराए जस्तो । उडेर जान्छ दुर आकाश तर्फ। यो उडेर आकाशतर्फ गएको हो कि धरतीको छातीमा निदाएको हो भन्न सकिन्न ! प्रेम भैसकेपछी बिछोडको कल्पनाले प्रेमलाइ अझै तीव्रतातिर लिएर जान्छ । अनौठो छ प्रेमको सन्सार।अनौठो छ प्रेमको कम्पन । प्रेम सुखको अशान्त पोखरी हो। डुब्न मन लागिरहन्छ तर श्वास फेर्न फेरि बाहिर निस्कन पर्ने बाध्यता रहन्छ । मृत्यु पछि पनि प्रेमको अवशेष बाकी रहन्छ । जस्तो बाकी रहन्छ घाम डुबे पछि एउटा आकाशको आयतन ! सुर्य अटाएको एउटा सिङ्गो परिब्याप्ती !

प्रेमको दुखद अन्त्य तब हुन्छ जब सम्बन्धले समस्याहरूको अनुभव गर्न थाल्छन् । र कुनै प्रकारको बाहिरी जटिलताको कारणले मात्र यो टुट्छ। यदि एक पुरुष र एक महिला बाहिरी संसारको कठोर वास्तविकताबाट अलग रहे भने, तिनीहरूको सम्बन्ध सम्भवतः धेरै लामो समयसम्म रहन्छ र द्वन्द्व कम हुनेछ। कुनै न कुनै प्रकारको झगडा हुँदा सम्बन्ध सँधै टुटेको भए तापनि, दुईको एक अर्काप्रतिको प्रेम र बिश्वासको कारण जस्तोसुकै तनावमा पनि फेरि छिटो सम्बन्ध स्थापित हुन्छ । तर यो परिवेश सधैं एकनासको हुदैन । निश्चित रूपमा एक दुःखद घटना हो कि एक प्रेमिल जोडीलाइ परिवेश र दैनिक कठोर वास्तविकताहरूले उनीहरूको सम्बन्ध टिक्ने वा नरहनेमा ठूलो भूमिका खेलिरहेको हुन्छ। प्रेमको सम्बन्ध टुट्नुमा सत्तरी प्रतिशत बाहिरी परिवेशको हात हुन्छ । सामाजिक जीवनमा बाच्नेहरुलाइ समाजको मूल्य र मान्यताले नै अनेकौं समस्या झेल्न बाध्य बनाइरहेको हुन्छ ।

समयको सामाजिक मापदण्डहरूमा सम्बन्धले कत्तिको राम्रोसँग काम गर्छ, र सम्बन्ध कति लामो समयसम्म रहन्छ भन्नेमा बाह्य प्रभाव हो। महाकवि देवकोटाको मुना मदनमा भनिएझैं सामाजिक सम्बन्धलहरूले जोडीको सम्बन्धमा ठूलो भूमिका खेल्छ। पैसाको लागि भोट जानुपर्ने बाध्यता मुनाको कारण पनि हो। कथामा ती जोडीबीच एउटै परिदृश्यको सम्बन्ध छ । त्यो थियो गरीबीबाट उन्मुक्ति । आवश्यकता केवल खानु र लाउनु मात्रै पनि थिएन ।यदि यति मात्रै भएको भए मदन भोट जादैनथे। आवश्यकता अरुलाइ धनी भएको देखाउनु पनि हो। आवश्यकता गरिबीको चिन्तनबाट मुक्त भएको आफुलाइ मात्रै होईन समाजलाई पनि देखाउनु थियो। दुई जोडीहरूमा जब सपनाहरू असीमित हुन थाल्छन् खास गरेर स्त्रीको सपना पुरा गर्न पुरुष हुरुक्क हुन्छ । आफ्नो प्रेमिकाको सपना पुरा गरिदिनुमा एउटा पुरुष आफ्नो अहम् सग जोडिएको महसुस गर्छ। जब योजना अलपत्र पर्छन् अनि प्रेम पनि एक्लिन थाल्छ किनकि यहाँ स्वार्थले सधैं शिर उठाइरहेकै हुन्छ ।

प्रेम आफै मात्रै एक्लै हिंड्न् सक्तैन । प्रेमलाइ हिंड्न् आर्थिक, सामाजिक, भौगोलिक, भौतिक र दार्शनिकताको कयौं खुट्टाहरु आवश्यक पर्छन् । समर्पित मनले मात्रै अहिलेको भौतिक युगमा प्रेम बाच्न सक्तैन । समर्पण त प्रेमलाइ हिंड्न् अभिप्रेरित गर्ने बाटो मात्रै हो। केवल प्रार्थना गरेर पुग्नेत ईश्वरसगको प्रेमलाइ मात्रै हो। एकाध बाहेक अहिले प्रेम निकै महङ्गो सावित भैसकेको छ। यो सामाजिक सम्बन्धहरुसगको पुल पनि हो जहाँ बाट कयौं मानिसहरु जोडीन्छन फेरि टुट्छन पनि । सम्बन्धलाई कति लामो समयसम्म लैजाने भनेर कसैले पनि सम्बन्धको समय नापेर प्रेम गर्दैन । प्रेम गर्ने दुइजना बिचको आपसी बुझाइ र एकले अर्काको भावना प्रतिको सम्मानमा भर पर्छ यस्को जीवन्तता। प्रेममा पर्नु अहंकारको अन्त हुनु हो या दुवैले हार्न सिक्नु जित्न नखोज्नु पनि हो। प्रेम पदार्थहरु बाट माथी उठेको एउटा सुखद र बिराट अनुभुती पनि हो। सपनाहरूको जुगुप्साले प्रेमलाइ बचाउछ पनि र फेरि तिनै सपनाहरूको कारणले प्रेम मर्छ पनि ।

कति सपनाहरू पुरा हुदैनन् त्यस कारण पनि जोडीमा बिचल्लीपन निम्तिन्छ। अक्सर पुरा नहुने भएकोले पनि यस्लाइ सपना भनिएको होला । समाजले प्रेम देख्न चाहदैन। अझ पुर्वीय समाज त प्रेमको घोर बिरोधि हो। हाम्रोमा प्रेमलाई बिरोध गरिन्छ । यही कारण पनि प्रेम बाच्न सक्तैन । जोडीहरुसँगै बस्नको लागि लुक्नुपर्छ र झुट बोल्नुपर्छ। हाम्रो सामाजिक प्रचलनका कारण, सामाजिक मापदण्डका कारण दम्पतीमाथि या प्रेमिल जोडी माथी तनावको अर्को र अनेकौं प्रहारहरु हुन थाल्छन् । प्रेमले हार्नुपर्छ। कुनैकुनै प्रेम मात्रै सफल हुन्छन । त्यस्तो प्रेम मात्रै सफल हुन्छ जस्ले समाजको बिरोधि स्वरहरुको पर्वाह गर्दैन , आफू वरिपरिको कुरा नसुनी केवल आफुलाइ मात्रै सुन्छ । र आफ्नो सपनाको निन्द्रामा मात्रै निदाउन सक्छ । हिजोआज के यो संभावना रहला त ?

प्रेमको दुखद अन्त्य तब हुन्छ जब सम्बन्धले समस्या अनुभव गर्छ र कुनै प्रकारको बाहिरी जटिलताको कारणले यो टुट्न सुरु गर्छ।

सम्बन्धले कति राम्रो काम गर्छ र कति लामो समयसम्म यो जिवित रहन्छ भनेर सामाजिक सम्बन्धनहरूले निर्क्योल गर्छ।कसरी बिषम परिवेशले जीवन जोडीको सम्बन्धलाई असर गर्न सक्छ भनेर हामी बाचिरहेकै समय र समाजले विश्लेषण गर्दछ। प्रेम ब्यक्ति ब्यक्तिले गर्छन् तर यस्को सम्बन्ध र टाउको दुखाइ प्रेमीहरु बाचेको समाजमा पर्छ ।

बाहिरी संसारले सम्बन्धमा यति ठूलो भूमिका खेल्नु दुर्भाग्यपूर्ण कुरा हो तर हामी जे हौ समाज पनि त्यही हो।हामी समाज द्वारा निर्देशित छौ। हाम्रो सामाजिक स्तर,हाम्रो जीवन अवस्था/परिस्थिति र कठोर वास्तविकताले प्रेमलाइलाई टुक्राउन सक्छ।हामी बाचेको समाजले प्रेमलाइ मलजल गर्दैन । अनेकौं बाधा र बाध्यताहरु छन प्रेमलाइ जिवित राखिरहन। अहिलेको सामाजिक सन्जालले प्रेम गासिने पुलको काम गरिरहदा फेरि यहि सामाजिक सन्जाल प्रेम टुक्र्याउने वा प्रेम छिनाउने एउटा दरिलो हतियार पनि सावित भैरहेको छ।अहिले धेरै रोजाइहरु छन। मोबाईलको पर्दामा तपाई मन लागेको केटा / केटी छान्न पाउनु हुन्छ । अहिले मायाको लागि पैताला ख्याउनु पर्दैन । मोबाईल डेटिङ पछि मिलनको सेटिङ छिटो तयार हुन्छ । यो डिजिटल जमानामा कुन स्त्री / पुरुषको नियन्त्रण खपेर बस्ने? उनीहरू चाहार्न सक्छन् स्वतन्त्र आकाशमा र फेर्न स्वतन्त्र छन आफुलाइ मन लागेको स्त्री / पुरुष । हो यहि हो सामाजिक सम्बन्धले प्रेमको उमेर निर्धारण गर्छ भनेको।

प्रेम गहिरो, तीव्र, साँचो र भावुक हुन्छ, तर सबै प्राय: दुःखद रूपमा समाप्त हुन्छन। जुन सधैं मायाको बोझ बोक्न हिम्मत राख्ने एक व्यक्तिलाई पछाडि छोड्छ प्रेमले। जहिले पनि प्रेम टुट्दा एउटाले जितको अनुभव गर्छ अर्कोले हारको। प्रेमको कथाहरू सबैको साझा विषयवस्तुको रूपमा समाजमा रहेको हुन्छ।हाम्रा आँसु हरुमा दुखद प्रेमको कथा छ। प्रेम कथाहरू कसरी त्रासदीमा पुगेर समाप्त हुन्छ र कसरी यस्ले ब्यक्तिको अहम् लाई समुल नस्ट गरिदिन्छ भन्ने कुरा केवल प्रेम भोगेर बिछोड भोग्नेलाइ मात्रै थाहा हुन्छ ।

प्रेम एक उत्प्रेरक हो। उर्जा हो। जसरी हरेक युद्धले विपत्ति निम्त्याउँछ, त्यसरी नै प्रेमले अज्ञातलाई निम्त्याउँछ।थाहा छैन भोलि के होला ? । प्रेम अनिश्चितताको एउटा धुमिल बाटो पनि हो जहाँ बाट हिड्ने प्रायः लडेका छन। बत्तीको रापले जलाउछ र मार्छ भन्ने बुझेको भए किन पुतलीहरु आकर्षित हुन्थे र उज्यालोमा। वातावरण, पृष्ठभूमि, र व्यवहार जस्ता कारकहरूनै प्रेमको परिणाम हो। मायाको सम्बन्ध स्वास्थ्य जस्तै हो; तिनीहरूलाई प्राप्त गर्न सन्तुलन, त्याग र लगनशीलता चाहिन्छ।अस्वस्थ सम्बन्धहरूमा सामान्यतया गलत सञ्चार, नियन्त्रण गर्ने असमर्थता र गलत धारणाहरू हुन्छन्।

आफ्नो जीवन अवधीभरका लागि हामी प्रेमी / प्रेमिका पति / पत्नी चाहन्छौ हाम्रो जीवन एकअर्कासँग आत्मीय, र विशेष तरिकामा साझा गर्दै हामी बाच्न चाहन्छौ। आफूले चाहेको व्यक्तिलाई फेला पार्न आफ्नो सम्पूर्ण जीवन संघर्ष गर्दा पनि पाइन्न कहिले र कहिले सहजै प्राप्त होला। प्रेम लेखिएको मात्रै पाइन्छ देखिएको होईन । तपाईं ती भाग्यमानी थोरै मानिस मध्य पर्नुहुन्छ जोसग प्रेम छ। हामी तिनै मान्छे हौ जो थोरै स्नेहको लागि पनि हताश गर्छौ, मानिसहरू जसले यस संसारमा आफुले चाहेको कुरा प्राप्तिका लागि यत्न गर्छन् भने तिनैले प्रेम पनि पाँउछन।

संसारभरका मानिसहरूले माया गर्छन्। तिनीहरू प्रेमको लागि बाँच्छन्, तिनीहरू प्रेमको लागि लेख्छन्, प्रेमको लागि गाउँछन्, खान्छन्, मर्छन् र मार्छन् । यो धरतीमा रेकर्ड गरिएको समयको सुरुवातदेखि, मानिसहरूले सोच्दै आएका छन कि किन प्रेम यस्तो तीव्र र विश्वव्यापी भावना हो भनेर ? । यस ग्रहमा प्रेम नभएको कुनै संस्कृति छैन । मैले यस निबन्धमा रोमान्टिक प्रेमको बारेमा कुरा गरेको छैन न इच्छा न कामुकता र यौनको बारेमा कुरा गरे । मैले त सिर्फ प्रेमको दिर्घायुको बारेमा कुरा गरे ।

प्रेम हुनु र आकर्षण हुनुमा धेरै अन्तर छ। आकर्षण सहितको प्रेममा अझै तीव्रताको झड्का रहन्छ । रोमान्टिक प्रेम, पृथ्वीमा सबैभन्दा शक्तिशाली ऊर्जाहरू मध्ये एक हो ।यो वास्तवमा एक प्रकारको लत पनि हो।यो सबैभन्दा शक्तिशाली उच्च भावना पनि हो जुन हामीले हाम्रो जीवनमा कम्तिमा एक न एक पटक अनुभव गर्छौ। कोकिन खाएपछिको हडबड र प्रेम परेपछिको छटपट र हतारले मस्तिष्कमा एकै प्रकारको रसायन उत्पादन गर्छ । हामी शाब्दिक रूपमा प्रेमको लतमा छौं। प्रेममा भएको अनुभूतिले हामीलाई अझ खुशी महसुस गर्न मद्दत गर्दछ , तर माया गरिएको वा मन टुटेको भावनाको तीव्रता उस्तै हुन्छ , तिनीहरू दुबै एकै ठाउँबाट टाढा जान्छन्। प्रेम हाम्रो मस्तिष्कको सबैभन्दा आधारभूत प्रणालीमा रहन्छ, सबै संज्ञानात्मक प्रक्रिया अन्तर्गत, सबै हिर्दय सम्बेद्द आवेगहरू अन्तर्गत; यो हाम्रो स्नायु प्रणालीमा रेकर्डिङ हुन्छ ।

जब प्रेमको सुरुवात हुन्छ यो सगै प्रेमको त्रासदी पनि सुरु हुन्छ । सन्सार प्रेमको परिणाम हो।सन्सार ध्वस्तको परिणाम पनि प्रेम नै हो। आजको डिजिटल मनुष्यको प्रेम पनि डिजिटल जस्तै फेरिरहनुमा आफुलाइ अपडेट गरेको सम्झन्छ। अब प्रेम प्रेम जस्तो कहाँ छ र? आजको प्रेममा कोमलताले मर्न परेको, लज्जाले हार्न परेको, भौतिकता र यौन उन्मादले जितिरहेको अवस्था छ । आज कोहि पनि बिछोड हुँदा रुदैनन किनकि आज प्रेमको बटम फेसबुकको च्याटमा र टिकटकको हाउभाउमा छ। आज एक निम्तोमानै झुलुक्क झुल्किन्छन रोबर्ट मायालुहरु !

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १४:१७