३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

केपी ओली र माधव नेपालबीच गोप्य भेटवार्ता, नगदमै राष्ट्रपति दिने प्रस्ताव

८ फागुन, काठमाडौँ । राष्ट्रपति निर्वाचनको रस्साकस्सी चलिरहेको समयमा नेकपा एमालेका अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक संयन्त्रमा संयोजक केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आइतबार गोप्य भेटवार्ता गरेका छन । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको नाममा नेपाली कांग्रेससँग निरन्तर वार्ता र छलफल गर्न थालेपछि एमाले अध्यक्ष ओलीले आइतबार महाराजगञ्जमा माधव नेपालसँग गोप्य वार्ता गरेर नगदमै राष्ट्रपति दिने प्रस्ताव गरेका हुन ।

उक्त वार्तामा ओली र नेपालबीच पार्टी एकतासहित राष्ट्रपति निर्वाचनको बारेमा कुरा भएको एमाले स्रोतले जानकारी दियो । माधवकुमार नेपालले यस बारेमा पार्टीका अन्य शीर्ष नेताहरूसँग सल्लाह गर्ने बताएका छन । यद्यपी उनले यसको संकेतको रूपमा सोमबार एक कार्यक्रममा आफू राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न तयार रहेको बताएका छन ।

दैनिकीको सम्पर्कमा रहेको एमाले स्रोत भन्छ, ‘नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ओलीले पार्टी एकतासहितको राष्ट्रपतिको प्रस्ताव गरेका कारण झलनाथ खनालसहितका केही नेता सहमत भए केही दिनभित्रै एमाले र समाजवादीको बीचमा पार्टी एकता घोषणा हुनेछ र एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार माधवकुमार नेपाल बन्नेछन ।’

प्रचण्डले केही दिनअघि बालकोटमा केही घण्टासम्म भएको ओलीसँगको छलफलमा विदेशीहरूको चर्को दबाबका कारण आफूले तत्कालका लागि एमालेको तर्फबाट उम्मेदवार हुने व्यक्तिलाई राष्ट्रपतिमा समर्थन दिन नसक्ने बताएको स्रोतले बताएको छ । प्रचण्डको उक्त प्रस्तावपछि ओलीले प्रचण्ड पनि सहमत गराउन सक्ने पात्रको रूपमा माधव नेपाललाई अघि सार्ने तयारी गरेका हुन ।

ओली र नेपालको भेटवार्ताको बारेमा चासो राख्दा समाजवादीका प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले त्यस्तो समाचार झुटो रहेको दाबी गरे । उनले दैनिकीसँग कुरा गर्दै भने, ‘ओली र प्रचण्डको बीचको छलफलमा माधव नेपाल पनि राष्ट्रिय सहमतिको राष्ट्रपतिका लागि उपयुक्त पात्र हुन सक्ने भन्ने विषयमा पटक पटक छलफल भएको हुनसक्छ तर ओली र नेपालबीचको भेटको त्यस्तो कुनै जानकारी छैन ।’

यसअघि आइबार नै शेरबहादुर देउवासहितका नेपाली कांग्रेसका नेताले प्रधानमन्त्री निवास बलुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका थिए । कांग्रेस नेताहरूलाई प्रचण्डले राष्ट्रपतिमा सहयोग गर्ने वचन दिएको बैठकपछि उनीहरूले बताएका छन । सोही अनुसार कांग्रेसका नेताहरूले उत्साहित हुँदै अभिव्यक्ति पनि दिइरहेका छन ।

प्रकाशित मिति : February 20, 2023 at 11:22 pm