१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

विदेशको कमाइले स्वदेशमै उद्यमी

७ फागुन, मोरङ । मोरङ बेलबारी नगरपालिका-९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिन्छन्। विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उहाँ च्याउ उत्पादनमा लागेका छन् ।

विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उनले यस वर्ष मात्रै करिब रू ५० लाख आम्दानीको लक्ष्य लिएका छन् । तीन वर्ष मलेसिया बस्दा कमाएको करिब रू एक लाख ५० हजार लगानी गरी उनले मेहनती मसरुम कृषि फर्म सुरु गरेका थिए । हाल कम्पनीमा रू एक करोडभन्दा बढी लगानी भइसकेको उनको भनाइ छ।

तीन कठ्ठा क्षेत्रफलमा तीन वटा प्लाष्टिकका टनेलमार्फत सुरु गरिएको च्याउखेती हाल हाल चार वटा पक्कि घर बनिसकेका छन् भने थप तीन वटा बन्ने क्रममा छन् । च्याउ उत्पादन हुने पक्कि घर ५० फिट लम्बाई र २२ फिट चौडाइका छन् ।

एउटा घरमा एक हजार दुई सय ६५ वटा च्याउका पोका रहने र ती पोकामा राम्रो भएमा दुई महिनासम्म निरन्तर उत्पादन हुने बोगटीको भनाइ छ ।

वार्षिक तीन लट उत्पादन हुने र प्रत्येक लटमा करिब १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको दाबी छ । गर्मीभन्दा भन्दा जाडो मौसममा उत्पादन राम्रो हुने भन्दै उनले हाल दैनिक नौ सय किलोसम्म उत्पादन भएको जानकारी दिए ।

उत्पादित च्याउ बिक्रीमा कुनै समस्या नभएको उनको भनाइ छ । हाल थोकमा रू एक सय ५० का दरले च्याउ बिक्री भइरहेको उनले जानकारी दिए । उत्पादन गरिएको च्याउ हरेक विहान ४ बजेसम्म इटहरी पुर्‍याई सक्नुपर्ने र ७ बजे सम्ममा बिराटनगर र धरानसम्म पुर्‍याई सक्नुपर्ने हुन्छ ।

दैनिक रुपमा अटो रिक्साबाट पनि स्थानीय क्षेत्रमा पुर्‍याउन समस्या हुन थालेपछि अब आफै पिकअप भ्यान खरिद गर्ने योजना बनाए । उनले हाल फर्ममा स्थानीय पाँच जनालाई दैनिक ज्यालादारिमा रोजगारी दिइरहेका छन् भने आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने योजना बनाएका छन् ।

सुन्दरहरैचाको गछियास्थित बहिनी ज्वाँइ विजय सापकोटाले सञ्चालन गरेको च्याउ उद्योगबाट प्रभावित भएर सोही पेसा रोजेको बोगटीको भनाइ छ । सापकोटाले १० वटा घर निर्माण गरी च्याउ उत्पादन गरिरहेका थिए तर दुई वर्ष अघि उनको फर्म आगलागीबाट जलेर नष्ट भएको थियो । हाल उनी काठमाडौँस्थित च्याउको बीउ उत्पादन गर्ने ल्याव सञ्चालन गरिरहेका छन् ।

विवेक वोगटीले पनि सोही ल्यावबाट कन्ये जातको च्याउको बीउ लिइरहेका छन् । दुई वर्षअघि डल्ले च्याउ उत्पादन टनेल निर्माण गर्न भनेर प्रदेश १ सरकारले २० लाख अनुदान दिएको उनले सुनाए । डल्ले च्याउ राम्रो उत्पादन नभएपछि अहिले लगाउन छोडेको उनी बाताउँछन् ।

‘वैदेशिक रोजगारी छाडेर उद्यमी बन्न चाहने युवालाई बैंकहरुले सरल कर्जा दिन्छ भन्ने सुनेर बिराटचोकस्थित कृषि विकास वैंकमा पटक-पटक जाँदा पनि बैंकले कुनै वास्ता गरेन, त्यसपछि जानै छाडे’, उनले गुनासो गरे ।

प्रकाशित मिति : February 19, 2023 at 4:25 pm