५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

राष्ट्रिय हितलाई तल पार्न खोजियो : अध्यक्ष ओली

५ फागुन, काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई तल पार्न खोजिएको टिप्पणी गरेका छन् । एमालेले आजदेखि सङ्गठन सुदृढीकरण तथा विस्तार गर्नका लागि सञ्चालन गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको पार्टी मुख्यालयबाट भर्चुअलरूपमा उद्घाटन गर्दै उहाँले स्वतन्त्र नेपाल आफैँ उभिन खोज्दा नदिने र मनोवल गिराउन खोजिएको तर्क गरे ।

देशभक्त शक्तिलाई समाप्त पार्न र परिवर्तनकारी शक्तिलाई पराजित गर्न खोजिएको भन्दै उनले अब राष्ट्रिय राजनीति नयाँ उचाइमा जानेसमेत बताए । उनले न्यायको पक्षमा चल्न खोज्ने शक्तिलाई कमजोर बनाउन खोजिएको धारणा राखे ।

एमाले अध्यक्ष ओलीले आंशिक हिसाबले नेपालको स्वाधिनतालाई दबाउने र खण्डित गर्ने प्रयास गरिएको उनको भनाइ थियो । उनले सत्ताका लागि घुँडा टेक्ने र देशका लागि योगदान दिन तयार रहने शक्तिबीच लडाइँ भइरहेको धारणा राखे ।

सत्ता नै सबथोक हो भनेर लाग्ने शक्तिले मुलुकको भौगोलिक अखण्डतामा मिचे पनि केही नबोल्ने गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले नेपाललाई अतिक्रमित बनाउन खोजिएको समेत बताए ।

एमालेले नै लोकतन्त्रलाई बलियो बनाउने बताउँदै उनले मिसन ग्रासरुट अभियानबाट एमालेलाई पहिलो शक्ति बनाउने दाबी गरे । अध्यक्ष ओलीले आगामी निर्वाचनमा कसैको वैशाखीमा नटेकी एक्लै चुनावी मैदानमा जाने बताए । “अबको हाम्रो मिसन ५१ प्रतिशत भोट हो”, उनले भने, “निर्वाचनमा हामी कसैको पनि वैशाखी नटेकी लड्छौँ ।”

अध्यक्ष ओलीले पार्टीको विचारमा अन्योल र समस्या नभएको भन्दै अभियानले पार्टीलाई थप मजबुद बनाउने बताए । उनले अभियानले पार्टीलाई वैचारिकरूपमा सशक्त र साङ्गठनिकरूपमा सृदृढ, अनुशासित र एकताबद्ध बनाउने बताए ।

अभियानमा एमालेका महासचिव शङ्कर पोखरेलले अभियानले जनताका बीचमा गएर पार्टीलाई व्यवस्थित गरिने बताउनुभयो । उहाँले अभियानका क्रममा पार्टी सदस्यता वितरण, सदस्यता नवीकरण, सङ्गठन विस्तार गर्ने, नवयुवालाई पार्टी प्रवेशजस्ता कार्य गर्ने बताए । उनले अभियानका क्रममा पार्टीको आन्तरिक एकतालाई पनि बलियो बनाए ।

अभियानकै क्रममा एमालेले आज सात प्रदेशमा अभिमुखीकरण कार्यक्रम राखेको छ । अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेता खटिने भएका छन् ।

अभियानमा प्रदेश नं १ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बागमती प्रदेश उपाध्यक्ष सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष विष्णुप्रसाद पौडेल र विशेष कमिटी (केन्द्रीय कार्यालय)मा महासचिव शङ्कर पोखरेल खटिएका छन् ।

यस्तै अभियानमा केन्द्रीय कमिटी सदस्यलाई पालिका तहमा जिम्मेवारी दिइएको छ । प्रत्येक केन्द्रीय सदस्यलाई तीनवटा पालिकामा खटाइएको छ । एमालेको यही माघ २६ गते बसेको सचिवालय बैठकले फागुन र चैत महिनामा पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : 19:11