१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नुवाकोटको चैनपुरमा बस दुर्घटना, एकै परिवारका दुईसहित तीन जनाको मृत्यु, २३ घाइते

४ फागुन, त्रिशुली । नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहतर्फ जाँदै गरेको बा २ ख ८४५ नंको बस विदुर–१२ चैनपुरस्थित पिपलबोट भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–६ भमराका अन्दाजी ६२ वर्षीय रामप्रसाद अर्याल, उनकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदुर–३ का ५८ वर्षीय बाबुराम दर्जी रहेका छन् । दुर्घटनामा घाइते भएका २३ जनामध्ये पाँच जनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

नमस्ते पासाङ ल्हामु यातायात प्रालिमार्फत सञ्चालित उक्त बस चैनपुरस्थित पिपलबोट भन्ने स्थानको उकालोमा यात्रु ओरालेर अघि बढ्ने क्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । उकालोमा अघि बढ्नुपर्ने बसपछि हटेर एक सय ५० मिटर तल पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख मिलनकुमार सिंहले जानकारी दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १९:१९