नेपालगञ्जमा महिला उद्यम प्रदर्शनी हुँदै
४ माघ, राँझा । महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रवद्र्धनका लागि नेपालगञ्जमा महिला उद्यम प्रदर्शनी गरिने भएको छ । यही फागुन ५ देखि ९ गतेसम्म महिला उद्यमी सङ्घ नेपाल बाँकेले लुम्बिनी प्रदेशस्तरीय महिला उद्यम प्रदर्शनी गर्न लागेको संयोजक सावित्री बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित बागेश्वरी मन्दिरको बालउद्यानमा सञ्चालन हुने प्रदर्शनीमा बाँकेसहित पाल्पा, रुपन्देही, कपिलवस्तु, रोल्पा, प्यूठान, रुकुम, दाङ, बर्दिया र सुर्खेतका महिला उद्यमीले उत्पादन गरेका वस्तु राखिने छन् ।
महिला उद्यमीले उत्पादन गरेका थाकलका हाते ब्याग, सांस्कृतिक पहिचान झल्किने पोशाक, प्लाष्टिकको विकल्पमा वातावरणमैत्री सालको पातको टपरी, स्थानीय उद्योगीद्वारा तयार पारिएको छालाका जुत्ता, चप्पल, महिला सहकारीद्वारा सञ्चालित बेसार खेतीको उत्पादन, चाडपर्वमा पाइने र बनाइने नेपाली सांस्कृतिक परिकारको उत्पादन, लसुन र टिमुरको अचार छोप मेलाको आकर्षण रहेको सङ्घका अध्यक्ष निरुपमा रस्तोगीले जानकारी दिए ।
नवउद्यमी उत्पादन गर्न विद्यार्थीलाई बिक्रीवितरण गर्न सिकाउन विद्यार्थीको बिक्री कक्षसमेत राखिनेछ । प्रदर्शनीमा सानो लगानीबाट उद्यमी बन्न सफल महिला उद्यमीलाई सम्मान गरिने अध्यक्ष रस्तोगीले बताए । विसं २०६० मा स्थापना गरिएको सङ्घमा ६२ महिला उद्यमी सदस्य छन् । सङ्घले २०७२ सालदेखि प्रदर्शनी गर्न थालेको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले बाँकेका महिला उद्यमीले उत्पादन गरेका वस्तुको काठमाडौँमा धेरै माग भइरहेको उल्लेख गर्दै महिलाभित्र भएको सीपलाई बाहिर ल्याउनमा यस्तो प्रदर्शनी महत्वपूर्ण हुने बताए ।
महिला उद्यमी सङ्घ नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा पराजुलीले महिला उद्यमीको उत्पादन बजारीकरण गर्नकै लागि सङ्घले हरेक वर्ष प्रदर्शनी गर्दै आएको बताए ।
प्रकाशित मिति : February 16, 2023 at 4:14 pm









