६ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026

केपी ओली नेतृत्वकाे सरकारका कारण तराई मधेशमा सिंचाइको कल्पना सम्भव भयाे

१ फागुन, काठमाडाैं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराईको विकास लगायतका समस्या समाधान गर्ने वैचारिक र राजनीतिक सामर्थ्य एमालेसँग मात्र रहेको बताएका छन् । उनले विगतमा राजनीतिमा जातीय मुद्दाले प्राथमिकता पाएका कारण विकासका मुद्दा ओझेल परेको बताए ।

साेमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को जनसंगठन लोकतान्त्रिक युवा संघका केन्द्रीय सदस्य रंजित कुमार सिंहलाई नेकपा (एमाले) मा प्रवेश गराउँदै महासचिव पोखरेलले तराई मधेशका क्षेत्रीय पार्टीहरू त्यहाँका जनताका समस्या, मुद्दामा केन्द्रित हुनुको सट्टा उनीहरूले एमालेलाई तराई मधेश विरोधीको रूपमा चित्रण गरेर जनतालाई भ्रममा पार्ने प्रयास गरेको स्मरण गरे ।

उनले भने– तर, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै हुलाकी सडक निर्माण कार्यलाई अगाडि बढायो, तराई मधेशका जिल्ला सदरमुकाम आधुनिकीकरण गर्ने काम गर्यो, सिंचाइका लागि मरिण डाइभर्सन आयोजना शुरु गरी अहिले धमाधम काम भइरहेको छ ।

महासचिव पोखरेलले अध्यक्ष ओली सरकारको नेतृत्वमा नभएको भए सुनकोशीको पानी मरिण डाइभर्सनमार्फत बाग्मतीमा खसाली तराई मधेशमा सिंचाइको कल्पना पनि गर्न सकिने थिएन भने ।

पूर्वपश्चिम रेलमार्गको परिकल्पना देशभित्रमात्र सीमित नभई एसियाली रेलमार्गसँग जोडिने विषय भएको बताउँदै महासचिव पोखरेलले तराई मधेशको समृद्धिको आधार कृषि र यातायात हो भने । नेकपा (एमाले) ले विकास र समृद्धिका ठूला परियोजना अगाडि बढाएकै कारण पार्टीविरूद्ध घेराबन्दी हुने गरेको बताए ।

उनले नवप्रवेशी सिंहलाई नेकपा (एमाले) ले गन्तव्य बनाएको विकास र समृद्धिको यात्रामा अन्य साथीहरूलाई जोड्न पनि आग्रह गरे ।महोत्तरी निवासी नवप्रवेशी सिंहले नेकपा (एमाले) मा प्रवेश गर्न पाउँदा गौरव अनुभूति गरेको बताए । पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादव र मधेश प्रदेशका पार्टीका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : February 13, 2023 at 5:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/