१ मंसिर २०८३, सोमबार | Tue Nov 17 2026

बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.४ प्रतिशत तथा कर्जा ४ प्रतिशतले बढ्यो

https://www.muktinathbank.com.np/online/loan-application

२७ माघ, काठमाडाैं । चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.४ र कर्जा ४ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै गत पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कूल निक्षेप ९.५ प्रतिशतले वृद्धि भई रू ५२ खर्ब ९७ अर्ब ९० करोड पुगेको जनाएको छ । यही समयमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ४ प्रतिशतले वृद्धि भई रू ४७ खर्ब ५८ अर्ब ४२ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार २०७८ असारदेखि निक्षेपको तुलनामा कर्जाको वार्षिक बिन्दुगत वृद्धिदर उच्च रहेकामा २०७९ असोजदेखि निक्षेपको वृद्धिदर अधिक रहँदै आएको छ । निक्षेपको तुलनामा कर्जाको वृद्धिदर न्यून रहेका कारण बाह्य क्षेत्रमा परेको चाप कम गर्न सहयोग पुगेको पनि राष्ट्र बैंकले जनाएको छ ।

शोधनान्तर स्थिति बचतमा रहँदा यसले तरलता सहज भएको पनि राष्ट्र बैंकले जनाएको छ । “विसं २०७८ जेठदेखि लगातार दबाबमा रहेको शोधनान्तर स्थिति २०७९ असोजदेखि बचतमा रहन थालेको छ, शोधनान्तर स्थितिमा सुधार आउन सुरु भएसँगै मौद्रिक तरलतामा विस्तार भएको छ”, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले भनेको छ । तरलतामा सुधार आएका कारण अल्पकालीन ब्याजदर घट्न थालेका र यसको असर निक्षेप तथा कर्जाको ब्याजदरमा समेत क्रमशः प्रतिविम्बित हुँदै जाने ठानिएको छ ।

कर्जाको आकार कूल गार्हस्थ्य उत्पादनकै हाराहारीमा पुगिसकेको र बैंक तथा वित्तीय संस्थाको पुँजीको आधार समेतलाई दृष्टिगत गर्दा कर्जा प्रवाह सन्तुलित रहन गई तरलता र ब्याजदरमा थप सुधार आउने अनुमान राष्ट्र बैंकको छ । तथापि आयातमा आधारित अर्थतन्त्र भएकाले सरकारी वित्त घाटा र कर्जा विस्तारसँगै आन्तरिक माग विस्तार हुँदा शोधनान्तर स्थिति पुनः दबाबमा पर्नसक्ने जोखिम रहेको छ ।

प्रकाशित मिति : February 10, 2023 at 12:32 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/