२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

विदेशी मुद्राको सञ्चिति बढेर १३ खर्ब ३७ अर्ब पुग्यो, रेमिट्यान्स कति ?

२३ माघ, काठमाडौं । विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांक अनुसार २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.० प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा रु.१३ खर्व ३७ अर्ब २९ करोड पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ पुस मसान्तमा १२.० प्रतिशतले वृद्धि भई रु.११८३ अर्ब ३७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई रु.१५३ अर्ब ९१ करोड कायम भएको छ। २०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ।

त्यस्तै, याे अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेर रु. ५ खर्ब ८५ अर्ब ८ करोड भएको छ। गत मंसिरमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेर रु. ४ खर्ब ८० अर्ब ५० करोड भएको थियाे। अघिल्लो वर्षको पुसमा भने विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो।

समिक्षा अवधिमा वैदेशिक रोजगारका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६ सय ४३ पुगेको छ। त्यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समिक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ।

प्रकाशित मिति : February 6, 2023 at 4:31 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/