२० पुष २०८१, शनिबार | Sat Jan 4 2025

नेपालले आफ्नो हितमा सार्वभौम भएर निर्णय गरोस् : अमेरिकी उपविदेशमन्त्री

१६ माघ, काठमाडाैं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका विषयमा सार्वभौम भएर निर्णय गरोस् भन्ने अमेरिकाको चाहना रहेको बताएकी छिन् ।

दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार यहाँ आउनुभएका उनले आज पत्रकार सम्मेलनमा नेपालले आफ्ना छिमेकी मुलुकहरूसँग बनाएको सुमधुर सम्बन्धलाई आफूहरुले स्वागत गर्ने उल्लेख गर्दै अमेरिकाले नेपालमा सहकार्य र आर्थिक सम्बन्धलाई बलियो बनाउन चाहेको बताइन् ।

भ्रमणका दौरान प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा विमला राई पौडेलसँग भेट भएको र सो अवसरमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको उपविदेशमन्त्री नुल्यान्डले जानकारी दिइन् ।

सो अवसरमा उनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कार्यान्वयनको आगामी कदम, सङ्क्रमणकालीन न्याय प्रक्रिया, नेपालमा अमेरिकी लगानी बढाउने वातावरण निर्माणलगायत विषयमा छलफल भएको उनको भनाइ थियो ।

उपविदेशमन्त्री नुल्यान्डले नेपालको लोकतन्त्र सुदृढीकरण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, आर्थिक वृद्धिलगायत क्षेत्रमा अमेरिकाले सहयोग र सहकार्य गर्दै आएको बताउँदै आगामी पाँच वर्षमा नेपालमा हरित ऊर्जा, विद्युतीकरण, साना तथा मझौला महिला उद्यमका क्षेत्रमा गर्ने सहयोगका बारेमा जानकारी गराउन पाउँदा गौरव महसुस गरेको बताइन् । उनले आजै ललितपुरको पाटन दरबार स्क्वायरस्थित पुरातात्विक महत्वका विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेकी थिइन् ।

उहाँले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीका रूपमा शपथ लिनुभएको हो । त्यसअघि उहाँ वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन् ।

उपविदेशमन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैरआवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छिन् ।

तेत्तीस वर्षयता अमेरिकी कूटनीतिज्ञ रहनुभएकी उहाँ अमेरिकी राष्ट्रपति ओबामा र विदेशमन्त्री केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा सेवारत थिइन् । उनी अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता हुनुहुन्थ्यो भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत थिइन् ।

उपविदेशमन्त्री नुल्यान्डले सन् २०१० देखि २०११ सम्म युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेषदूत तथा प्रमुख वार्ताकारका रूपमा र सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति चेनीकी उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गरेकी थिइन् । उनले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै अमेरिका बाहिर रसिया, चीन र मङ्गोलियाका साथै वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहोदामा रही काम गरिसकेकी छिन् । उनले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेकी छिन् ।

 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १९:२८