२१ पुष २०८२, सोमबार | Mon Jan 5 2026

बुद्धसिं मार्गको संरचना निर्माण थालियो

१४ माघ, डुम्रे । तराई र पहाडी जिल्लालाई सहज हुने गरी निर्माण गर्न लागिएको बुद्धसिं मार्गको संरचना निर्माण थालिएको छ । सङ्घीय सरकारबाट बजेट विनियोजन भएपछि सो मार्ग निर्माणका लागि संरचना बनाउन थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

पृथ्वी राजमार्गको विकल्पका रूपमा रहेको उक्त मार्ग कालोपत्रका लागि संरचना निर्माणको काम भइरहेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर धनमाया मिश्रले जानकारी दिए । “दमौलीबाट सुढेसम्मको १० किलोमिटर सडक कालोपत्रका लागि बोलपत्र आब्हान भएको भयो, अहिले कालोपत्रका लागि संरचना निर्माणको काम भइरहेको छ”, मिश्रले भने, “वैकल्पिक मार्ग भएकाले प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ ।”

उक्त मार्ग कालोपत्रका लागि रु ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६१ मा सम्झौता भएको छ । मैनाचुली सफल जेभी काठमाडौँले कालोपत्र गर्न विसं २०७९ भदौ २७ मा सम्झौता गरेको छ । सङ्घ सरकार र प्रदेश सरकारको समपूरक योजनामार्फत उक्त मार्गको कालोपत्र गरिनेछ । निर्माण कम्पनीले ३३ महिनामा कालोपत्र सम्पन्न गर्ने गरी सम्झौता भएको सूचना अधिकारी मिश्रले बताए ।

यस मार्गलाई पूर्णता दिन तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने पुल निर्माण गर्नुपर्ने छ । यस मार्गअन्तर्गतको पुल निर्माणमा ढिलाइ भएको छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको सो मार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालयको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको मिश्रले बताए ।

उक्त पुलको निर्माण सम्पन्न भएपछि पोखरा हुँदै दमौलीबाट नारायणगढ आवतजावत गर्न हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कने गरेका छन् ।

विसं २०७५ माघमा उक्त पुल निर्माणका लागि सम्झौता गरेकामा हालसम्म ३० प्रतिशत मात्रै काम सकिएको कार्यालयले जनाएको छ । त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि ढाँचा परिवर्तन गरेर आर्कब्रिज बनाउन लागिएकाले निर्माणमा ढिलाइ भएको हो ।

त्रिशूली नदीको वारिपारि ‘फाउन्डेसन’ मात्र बनेको छ । अब ‘आर्क’को काम सुरु हुने अवस्थामा रहेको बताइएको छ । एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत रु नौ करोड ५६ लाख रहेको छ । बारम्बार समय थप भए पनि पुलको कामले गति लिन सकेको छैन ।

पुल निर्माणको ठेक्का मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडाले पाएको छ । पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिं मार्गको थप स्तरोन्नति तथा घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लासम्म आवतजावतमा समय बचत हुनेछ ।

तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रूपमा साना बस तथा दुई पाङ्ग्रे सवारी साधन आवतजावत गरे पनि दुईपाङ्ग्रे सवारीसाधन भने झोलुङ्गे पुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कने गरेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १४:३६