१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

माया खोला हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला, कति दिने आवेदन ?

१३ माघ, काठमाडाैं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज माघ १३ गतेबाट सर्वसाधारणका आईपीओ बिक्री खुला गरेको छ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगार गरिरहेका नेपालीहरूका आइपिओ जारी गरी सकेपछि अहिले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशत अर्थात् ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपिओ निष्कासनका लागि छुट्याएको थियो।

सो मध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ४० हजार कित्ता कम्पनीले छुट्याएको थियो।

त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ भने ४८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको छ। बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो।

उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपिओमा माघ १७ गतेसम्म सो अवधिभित्र पूर्ण आवेदन नपरेमा २७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

कम्पनीको आइपिओलाई रेटिङ कम्पनी इक्रा नेपालले एनपी इस्युअर डबल बी माइनस रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता जोखिमका आधारमा औषत रहेको जनाउँछ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : January 27, 2023 at 10:08 am