२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

एमालेभित्र देखिएको सांस्कृतिक विकृति र विश्रृङ्खलता अन्त्य गर्नुपर्छः अध्यक्ष ओली

११ माघ, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको आर्थिक अवस्था रूपान्तरणबाट मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताएका छन । नेकपा (एमाले) केन्द्रीय स्कूल विभागद्वारा भक्तपुरको नगरकोटमा आयोजित राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले आजको हाम्रो आन्दोलनको उद्देश्य मानव जीवन र यिनका सन्ततिको सुख हो र हाम्रो आन्दोलन यसमै केन्द्रित  रहेको बताए ।

अध्यक्ष ओलीले आन्दोलनको सफलता र असफलतामा करोडौंको जिन्दगीको सरोकार रहने हुँदा आन्दोलनलाई बेठीक बाटोमा लैजाने गरी कोही पनि नेतृत्वमा बस्न नहुने बताए । उनले पार्टीभित्र सामाजिक तथा सांस्कृतिक विकृति र विश्रृङ्खलता देखिएको र त्यसको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको वताए ।

उनले नेतृत्वमा रहनेहरूमा विचार, व्यवहार, आचरण र इमानमा कमी हुनुहुँदैन भन्दै कम्युनिष्टमा हुनुपर्ने आचरणका सन्दर्भमा आफू पनि अग्निपरीक्षामा होमिन तयार रहेको बताए । अध्यक्ष ओलीले आफूलाई नजिकबाट हेर्न र दागधब्बा खोज्न कार्यकर्तालाई चुनौती दिँदै पार्टीका हरेक तहका नेताले पाइलैपिच्छे हुने जाँचमा डिस्टिङ्शन अङ्कका साथ पास हुनुपर्ने बताए । उनले समाजका सज्जन र असल मान्छे भन्दा पनि नेकपा (एमाले) का नेताकार्यकर्ताको व्यवहार आदर्श हुनुपर्ने बताए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १३:०३