फेरि थपियो मोलुङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद, अब कहिलेसम्म भर्न पाइन्छ ?
१० माघ, काठमाडाैं । मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने म्याद फेरि थप भएकाे छ । गत पुस १९ गतेदेखि आयोजत प्रभावित स्थानीयका लागि बिक्री खुला गरिएको कम्पनीकाे आईपीओमा आवेदन दिने म्याद थप भएकाे हाे ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने माघ ३ गतेबाटै निष्कासन बन्द गरिएको छ। स्थानीयका लागि भने आज माघ १० गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण अब उक्त आईपीओमा स्थानीयले माघ १५ गतेसम्म आवेदन दिन सक्ने धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटलले जनाएको छ।
कम्पनीले स्थानीयका लागि जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड २ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ जारी गरेको छ। जसअनुसार १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख २ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गरिएको छ।
आयोजना प्रभावित क्षेत्रकाका लागि जारी गरिने कुल कित्तामध्ये ५ प्रतिशत ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकाका बासिन्दालाई छुट्याइएको छ। बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दालाई बिक्री गरिनेछ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीयले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ।
प्रकाशित मिति : January 24, 2023 at 2:50 pm


