२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एक तस्बिर, जसले मधेशकी छोरीलाई उज्यालो संसारमा आउन उक्साएको छ

१० माघ, महोत्तरी । दाइजो प्रथाको विकराल समस्या यथावत रहँदा छोरीहरुलाई विद्यालय नपठाउने, बालविवाह गरिदिनेजस्ता प्रवृत्तिले मधेश प्रदेशका गाउँहरु अझै आक्रान्त छन् । तर, पछिल्लो समय महोत्तरीमा कैद गरिएको एक तस्बिरले भने छोरीप्रतिकोे जिम्मेवारीलाई अभिभावकहरुले महसुस गरेको देखिन्छ ।

पत्रकार राजकरण महतोले खिचेको एनसीसी तालिममा सहभागी विद्यालय पढने छोरीहरुको तस्बिर नेपाल आर्मीको नोमिनेसनमा परेपछि मधेशमा छोरीप्रतिको दृष्टिकोणमा नै परिवर्तन विश्लेषण हुन थालेको छ ।

तस्बिरमा अधिकाशं छोरीहरुले सैन्य पोसाक पहिरिएका छन् । विद्यालयमा कक्षा लिइरहेका छात्राहरुको यो तस्बिर झट्ट हेर्दा नेपाल आर्मीको जस्तै लाग्छ । अनुशासित, सौम्य, उत्सुकता, प्रतिबद्धता व्यक्त गरेको जस्तो देखिने तस्बिरले सबैको ध्यान तानेको छ ।

तस्बिर खिच्ने पत्रकार राजकरण महतोले लेखेका छन्, ‘महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय मावि पशुपतिनाथ बनरझुल्लामा खिचेको तस्बिरले छोरीहरुमा राष्ट्रिय भावना मात्रै जगाएको छैन, घरभित्रको अँध्यारो जीवनबाट निस्किएर उज्यालो संसारमा आउन उक्साएको छ ।’

तस्बिरवाट प्राप्त पुरस्कारकोे हकदार मधेशका सबै अभिभावक र छाेरीहरु भएको भन्दै खुसी व्यक्त गर्दै उनले भनेका छन्, ‘विद्यालय ज्ञानको मन्दिर मात्रै होइन, राष्ट्र भावना विकास गर्ने पुञ्ज पनि हो । त्यसैले हरेक छोरी विद्यालय जानैपर्छ ।’

मधेशमा छोरीहरु  दाइजो र घरेलु हिंसाको चरम शिकार हुनुपरेको छ । पछिल्लो महोत्तरीकै नेहा चौधरीको घटनाले देशकै ध्यान खिचेको थियो । शिक्षित छोरीले आफुमाथि भएको दमनलाई प्रतिकार गरेको घटना बाहिरिए पनि लुकेका र लुकाइएका कयाँै घटनाहरुले छोरीहरु अहिले पनि दिनहुँ प्रताडित बनिरहेका छन् ।

प्रकाशित मिति : January 24, 2023 at 1:35 pm