२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरियोः शेखर कोइराला

८ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् । अनुपम फुडल्याण्डमा जारी संस्थापनइतर समूहको बैठकमा कोइरालाले प्रचण्डलाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् ।

आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनको भनाइ छ ।

‘प्रधानमन्त्रीलाई हामीले विश्वासको मत दिएर गल्ती गर्‍यौं । मैले कार्यसम्पादनमा तठस्थ बस्ने प्रस्ताव राखेको थिएँ सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता भयो।’

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आइतबार बिहानदेखि बसेको भेलामा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

संस्थापन इतर समूहको भेलामा कांग्रेसको भूमिका, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको विषय, कांग्रेसको भ्रातृसंगठनलाई पूर्णता दिनेलगायतका विषयमा छलफल भइरहेको छ ।

बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसीलगायत उपस्थित छन् ।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार ११:२२