१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सेयर बजारमा बढ्दाे आकर्षणः डिम्याट खाता खोल्नेको संख्या ५५ लाख नजिक

-प्रतिमा ढुंगाना

६ माघ, काठमाडाैं । पछिल्लो समय सेयर बजारप्रति लगानीकर्ताकाे आकर्षक बढ्दै गएको हाे। आईपीओबाट राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो । सेयर बजारप्रति आकर्षक बढेसँगै यस क्षेत्रमा प्रवेश गर्ने लगानीकर्ताकाे संख्यामा पनि बढ्दै गहिरहेको छ।

सेयर बजारमा पनि दुईवटा बजार हुन्छन्– प्राथमिक बजार र दोस्रो बजार । यी दुईमध्ये प्राथमिक भनेको आवेदन दिएर सेयर किन्ने हो । कुनै कम्पनीद्वारा सर्वसाधारणका लागि जारी साधारण सेयर (आईपीओ) किन्न आवेदन दिनु प्राथमिक बजारमा प्रवेश गर्नु हो । दोस्रो बजारमा भने सिधै प्रवेश गरेर आफुले चाहेकाे कम्पनीकाे सेयर कारोबार गर्न सकिन्छ । तर सेयर बजारको प्रवेश विन्दु हाे डिम्याट खाता ।

डिम्याट खाता नखाेलिकन कुनै पनि कम्पनीले जारी गर्ने साधारण सेयर आईपीओ र दोस्रो बजारमा आवेदन दिन सकिने छैन् । त्यसैले पछिल्लाे समय डिम्याट खाता खोल्नेको संख्या बढ्दै गएकाे छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८४ हजार २७३ र मेरो सेयर लिनेको संख्या ४५ लाख ७२ हजार ५६८ पुगेको छ।

आईपीओ भर्दादेखि दोस्रो बजारमा कारोबार गर्दासम्म डिम्याट र मेरो सेयर अनिवार्यजस्तै भइसकेको छ। बजारमा लगानीकर्ताको संख्या बढ्दै गए पनि अझै पनि धेरैलाई दोस्रो बजारमा कसरी प्रवेश गर्ने भन्ने विषयमा पर्याप्त जानकारी छैन। साधारण सेयर आईपीओमा जस्तै दोस्रो बजारमा पनि जुनसुकै उमेरका व्यक्तिले कारोबार गर्न सक्नेछन् ।

नाबालिगको हकमा भने संरक्षकले कारोबार गर्न पाउँछन्। थाेरै थाेरै लगानीमा पनि बजारमा प्रवेश गर्न सकिने भएकाले सेयर बजारमा सबैकाे चाेसाे रहेकाे देखिन्छ । कुनै पनि क्षेत्रमा प्रवेश गर्नुअघि साे क्षेत्र कस्ताे छ भनेर अध्यन गर्नुपर्ने हुन्छ । त्यस्तै एउटा क्षेत्र छ सेयर बजार । याे क्षेत्र बुझेर लगानी गर्नेहरूकाे लागि राम्राे छ भने नबुझि हल्लाकाे भरमा प्रवेश गर्नेहरूकाे लागि खतारायुक्त पनि छ । याे बजार प्रवेश गर्नुअघि सेयर बजारबारे राम्रै अध्ययन गर्न भने जरुरी छ।

हामीले डिम्याट र मेरो सेयर लिएपछि दोस्रो बजारमा कारोबार गर्न ब्रोकर हाउसबाट गएर ब्रोकर आईडी लिएर टीएमएस लिनुपर्छ। टीएमएस लिन नाबालिगको हकमा जन्मदर्ता र अभिभावकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, फोटो तथा बालिगको हकमा नागरिकताको प्रमाणपत्र र प्यान नम्बरको प्रतिलिपि र फोटो आवश्यक पर्छ। केवाईसी फाराम भरेर थप विवरण दिनुपर्ने हुन्छ। प्राथमिक बजारमा लगानी गर्दा जोखिम कम हुन्छ। याे बजारमा जोसुकैले लगानी गर्न सक्छन्।

दोस्रो बजारमा भने लगानी जोखिमपूर्ण हुन्छ। त्यसैले कम्पनीबारे राम्ररी अध्ययन गरेर, नाफा–घाटा, लगानीको अवस्था, रिजर्भको अवस्था, सुशासनको अवस्था, लाभांश क्षमता, सञ्चालन र व्यवस्थापनको अवस्था, बुक भ्यालु, ईपीएस, नेटवर्थलगायत सबै कुराको अध्ययन गरेर दोस्रो बजारमा कारोबार गर्नु राम्राे हुन्छ ।

सेयर बजारमा लगानी गर्नुपूर्व आधारभूत ज्ञान एवं जानकारी लियर प्रवेश गर्नु लाभदायक हुन्छ । थोरै पुँजीबाट आफूले चाहेको कम्पनीमा लगानी गर्न सकिने, अन्य सङ्घसंस्थामा काम गरेर बिहान बेलुकाको समयमा विभिन्न कम्पनीका बारेमा अध्ययन गरी ती कम्पनीको सेयरमा लगानी गर्न सकिने, सेयरमा लगानी गरेको पैसा आवश्यक परेको बेलामा तुरुन्त बेचेर आफ्नो गर्जो टार्न मिल्ने छ ।

प्रकाशित मिति : January 20, 2023 at 2:58 pm