१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

मनाङमा १३५ मेगावाटको जलविद्युत आयोजनाको निर्माण कार्य सुरु

२ माघ, लमजुङ । मनाङ जिल्लामा १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । सन् २०२० देखि कोरोना महामारीका कारण रोकिएको आयोजनाको काम सुरु गरिएको हो ।

आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच २०७९ पुस ३ गते सम्झौता भएकाे थियो । पिकिङ रन अफ दी रिभर प्रकृतिको आयोजनाको काम ४ वर्षमा पुरा हुने जनाइएको छ। जसबाट वार्षिक ७६६.५९३ गिगावाट आवरमा विद्युत् उत्पादन हुनेछ ।

आयोजनामा नेपाली साझेदार बीपीसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससीआईजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्तामा क्यूवाईसी इन्टरनेसनलले संयुक्त रुपमा ८० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानीकर्ताबीच समझदारी भएको जनाएको छ।

आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब एक अर्ब ३३ करोड रुपैयाँ स्वपूँजी लगानी गर्नेछ। आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ। सम्भाव्यता अध्ययनका अनुसार यस आयोजनाको ग्रस हेड चार सय ३० दशमलव २० मिटर र हेडरेस टनेल छ दशमलव शून्य ७५ किलोमिटर रहेको छ ।

आयोजनाको कूल लागत ३३ अर्ब ३८ करोड रुपैयाँमध्ये २० प्रतिशत स्वपूँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजना विकास सम्झौता भएसँगै चिनियाँ साझेदारले चिनियाँ बैंकबाट ऋण ल्याउने तयारी थालेको बुटवल पावर कम्पनीका कोअर्डिनेटर प्रतीक महर्जनले बताए।

प्रकाशित मिति : January 16, 2023 at 4:30 pm