७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा देशव्यापी प्रभातफेरिको आयोजना

२४ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले सम्युक्तरुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा दुई बैंकले संयुक्तरुपमा काठमाडौं उपत्यकासहित नेपालका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका हुन् ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड यही पौष २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दैछन् । प्रभात फेरिमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरुलगायत दुई बैंकका १ हजारभन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो ।

वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट हिँड्दै शहरको मुख्यमुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौं उपत्यका बाहिर पनि मुख्यमुख्य शहरमा परिक्रमा गरेका थिए । मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड, कूल निक्षेप चार खर्ब भन्दा बढि र कूल कर्जा तीन खर्ब ७९ अर्ब भन्दा बढि पुग्नेछ ।

मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट दुई जना रहेका छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहेका छन् ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा छ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । दुई बैंकहरुको मर्जर पश्चात् कूल तीन सय ६५ वटा शाखा कार्यालय, तीन सय ६७ वटा एटिएम, दुई सय ८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, तीन वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठुलो बैंक हुनेछ ।

प्रकाशित मिति : January 8, 2023 at 10:32 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/