६ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026

भक्तपुरमा माधव नारायण मेला सुरु, दैनिक कथा वाचन गरिने

२२ पुस, भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधव नारायण मेलाको व्रत सुरु भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको व्रत एवं मेला एक महिनासम्म चल्ने ।

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने मेला आज हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधव नारायणको पूजा गरेपछि सुरु भएको माधव नारायण व्रत व्यवस्थापन समितिका अध्यक्ष उद्धव सुजखुले जानकारी दिए ।

साँखुको शालिनदीमा भन्दा पहिलेदेखि मेला एवं व्रत सुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको उनको भनाइ छ । माधव नारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको उनले जानकारी दिए । त्रिवेणीमा दैनिक नित्य पूजा तथा माधव नारायणको कथावाचन र हनुमानघाट त्रिवेणी कुण्डमा दैनिक स्नान गर्ने गरिन्छ ।

नेसं ७२२ मा रणजित मल्ल आफैँले व्रतको व्यवस्थापन गरेको शिलालेखमा भैटिएको उनले बताए । त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास छ ।

व्रतालु विनोदकुमार प्रजापतिले व्रतालुहरु खाली खुट्टा पैदल सप्तमीमा पनौती गइ त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने चलन छ । साथै दशमीमा पशुपति पुगी स्थान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने र द्वादशीका दिन चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने चलन छ । उनका अनुसार माघ शुक्ल पूर्णिमाका दिन नगर परिक्रमा गरी भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएपछि एक महिने व्रत पूरा हुन्छ ।

आजदेखि एक महिनासम्म यहाँ माधव नारायणको कथावाचन हुनेछ । यस वर्ष चार महिला र १३ पुरुषले माधव नारायणको व्रत बसेका छन् । महिलाका लागि भने यहीँ बस्ने व्यवस्था गरिएको समितिका अध्यक्ष सुजखुले जानकारी दिए । मेला सञ्चालनका लागि भक्तपुर नगरपालिकाले हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गर्नका लागि खाल्डो बनाइदिएको छ ।

प्रकाशित मिति : January 6, 2023 at 2:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/