७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

रुवीभ्यालीको चालिस गाउँमा पर्यटकीय सम्भाव्यताको अध्ययन हुँदै


२१ पुस, काठमाडाैँ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले माघ ७ देखि ९ सम्म धादिङको रुवीभ्याली गाउँपालिका-४, स्थित चालिस गाउँमा पर्यटकीय सम्भाव्यताको अध्ययन तथा अवलोकन भ्रमण गर्ने भएको छ । रुवी भ्यालीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले भ्रमणको आयोजना गरिएको भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले जानकारी दिएका छन् ।

नेपाल पर्यटन बोर्डको समन्वय तथा धादिङको रुवी भ्याली गाउँपालिकाको सहकार्यमा अध्ययन तथा अवलोकन भ्रमण गर्न लागिएको भिटोफ नेपालले जनाएको छ । ‘लुकेको हिरा’को रूपमा रहेको रुवी भ्यालीमा पर्यटन प्रवर्द्धन गर्न सघाउने र ग्रामीण पर्यटनको माध्यमबाट सो क्षेत्रका समुदायको जीवनस्तर उकास्न सहयोग पुर्‍याउने उद्देश्यले भ्रमण गर्न लागिएको जनाएको छ । त्यसैगरी सो क्षेत्रका समुदायको प्रमुख आयस्रोत कृषि भएकाले कृषि पर्यटनको सम्भाव्यता पनि अध्ययन गर्न लागिएको जनाएको छ ।

करिब १५० घरधुरीको बसोबास रहेको चालिस गाउँमा तामाङ, गुरुङ र घले समुदायको बाहुल्यता रहेको छ । गाउँमा तामाङ, गुरुङ र घले लगायत समुदायको संस्कार, संस्कृति, भाषा, भेषभूषा, मौलिक खानपान, रहनसहन र विशिष्ट जीवनशैलीको अवलोकन गर्न पाइन्छ ।

गाउँबाट गणेश हिमाल अन्तर्गतका पाल्दोर हिमाल, याङ्गा हिमाल, लाप्साङ्गकार्पाे हिमशृङ्खलामा पर्ने बुद्ध हिमाललाई नजिकै देख्न सकिन्छ । त्यसैगरी हिमचुली, दोर्जेलाक्पा, मनासलु लगायतका हिमाललाई पनि देख्न सकिन्छ ।

गाउँमा विभिन्न स्थानीय छ्योर्तेन, गुम्बा, मन्दिर, स्तुपाहरू पनि रहेका छन् । सेतो दह, कालो दह, तातो पानी आदी पनि पर्यटकीय आकर्षणका रूपमा रहेका छन् । गाउँ र गाउँ परिसरमा रेड पाण्डा, घोरल, झारल, बँदेल, कस्तुरी मृग आदि वन्यजन्तुसँग पनि साक्षात्कार गर्न पाइन्छ ।

त्यसैगरी सुनाखरी, सुनपाति, निरमसि, पाँचऔँले, चिरायु, लगायत जडीबुटीहरू पनि पाइन्छ । लालीगुराँसको घना जङ्गल पनि रहेको छ । गुराँस फुल्ने बेलामा जङ्गलकाे मुहार अर्के देखिन्छ । बहुमुल्य पत्थर रुवी क्रिस्टल पाइन्छ । उक्त पत्थर पाइने भएकाले नै यस क्षेत्रको नाम रुवी भ्याली रहन गएको हो ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १८:५८