२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

अनुकूलन कोषको बोर्ड सदस्यमा नरेश शर्मा चयन

२१ पुस, काठमाडाैं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिअन्तर्गतको अनुकूलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा चयन भएका छन् ।

मन्त्रालयको सिफारिसमा उनी अतिकम विकसित राष्ट्रको समूह (एलडिसिज ग्रुप)का तर्फबाट अनुकूलन कोषको बोर्ड सदस्यमा छनोट भएकाे मन्त्रालयले जनाएको छ । कोषमा अन्य विभिन्न समूहका गरी करिब २० पदाधिकारी रहन्छन् । उपसचिव शर्मा दुई वर्ष (सन् २०२३ र २०२४)का लागि सो पदमा चयन भएका हुन् ।

उक्त पदमा विभिन्न मुलुकबाट विभिन्न व्यक्तिले आवेदन दिएका थिए । कोषको बोर्ड सदस्यमा उहाँ एलडिसिज ग्रुपका तर्फबाट चयन भएपनि नेपाललाई उक्त कोषको नीति निर्माणमा पहुँच र सहयोग प्राप्तिमा योगदान पुग्ने विश्वास गरिएको छ ।

नेपाल पक्ष राष्ट्र भएको जलवायु परिवर्तनसम्बन्धी महासन्धिको सदस्यका रुपमा काम गर्दै आएको छ । यस महासन्धिअन्तर्गत विभिन्न निकाय छन् । त्यसमध्ये अनुकूलन कोष महत्वपूर्ण एकाइ हो । कोषले जलवायु परिवर्तनका असरबाट प्रभावित गरिब र सङ्कटासन्न अवस्थामा रहेका जनतालाई अनुकूलन कार्यमा सहयोग गर्ने गर्छ ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १३:०७