२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

चितवनमा बौलाहा कुकुरको टोकाइबाट २५ घाइते

२० पुस, चितवन । बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो । गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार दुई घण्टाको बीचमा बौलाहा कुकुरले टोकेर उनीहरू घाइते भएका थिए । घाइतेमध्ये २० जनाको कुरिन्टार स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको र सख्त घाइते पाँच जनाको थप उपचार भरतपुर अस्पतालमा भइरहेको उहाँले जानकारी दिए ।

बौलाहा कुकुरले टोकेको खबर आएसँगै पालिकाले सो कुकुर नियन्त्रणमा लिई मारेर परीक्षणका लागि पठाइएको उपाध्यक्ष सिलवालले बताए। बौलाहा कुकुरले टोकेका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको त्यहाका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : January 4, 2023 at 11:20 am