१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

साउथ अष्ट्रेलियाको तमु ल्होछारमा बहुसांस्कृतिक नेपालको झल्को (फोटोफिचर)

१६ पुस, एडिलेड ।तमु घी साउथ अष्ट्रेलियाको आयोजनामा तमु ल्होछार भव्य रुपमा सम्पन्न भएको छ । एडिलेडमा रहेका गुरुङ सहित नेपाली समुदायले हर्षोउल्लासका साथ ल्होसार पर्व मनाएका छन् । गुरुङ समुदायले प्रत्येक वर्ष पौष १५ गतेलाई ल्होसार पर्वका रुपमा मनाउने गर्दछन् । तमु भाषामा `ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमू ल्होसार मनाउने चलन छ ।

तमु घी साउथ अष्ट्रेलियाले स्थानिय थेवाटन समुदायिक हलमा बिहान १० वजेबाट शुरु गरिएको कार्यक्रममा विभिन्न प्रतियोगितात्मक खेलहरु समेत आयोजना गरिएको थियो । जसमा छेलोमा अशोक थापा विजयी भएका थिए । थापालाई अष्ट्रेलियन डलर एक सय र प्रमाणपत्र प्रदान गरिएको थियो । थापाले गत वर्षका बिजेता प्रदिप खत्री संगको निकै प्रतिस्पर्धात्मक खेलमा विजय हासिल गरेका हुन् ।

नेपालको राष्ट्रिय खेल डन्डिवियोमा ब्रदर्श युनाइटेड क्लवको टिमले जित हासिल गरेको थियो । जसमा दिलीप तामाङ, सिद्धान्त कार्की, रुपक कुँवर, उमेश बुढाथोकी, आयुष गुरुङ रहेका थिए | महिलाहरुको डोरी टान्ने प्रतियोगितामा तमु घी बिजयी भएको थियो । जसमा रोशिनी गुरुङ, सृष्टि श्रेष्ठ, बिना गुरुङ, सुमिक्षा गुरुङ, काजल लामा रहेका थिए । यसै गरि पुरुष तर्फको खेलमा तमु घीको टिमलाई टिम मंगोलियनले पराजित गरेको थियो । टिम मंगोलियनमा प्रदीप खत्री, विजय तामाङ, चंचल मगर, अर्जुन गुरुङ, नवीन थापा रहेका थिए |

ऐतिहासिक लिगलिगे दौडको संझनामा भएको १०० मिटरको लिगलिगे दौडमा बालबालिकाहरु तर्फको खेलमा पहिलो आशेष अधिकारी, दोस्रो आयुष गुरुङ, तेस्रो समिक सापकोटा भएका थिए । महिला समुहको खेलमा प्रथम टिका भट्टराई, दोस्रो महिमा सुवेदी, तेस्रो सुस्मिता सुनार भएका थिए ।भने पुरुष तर्फको खेलमा प्रथम सिद्धान्त कार्की, दोस्रो रिबेक तामाङ, तेस्रो अमन मोक्तान भएका थिए |

महिला भलिबल खेलमा तमु घिको टिमलाई अजी ड्रुकले पराजित गरेको थियो । अजी ड्रुकमा टिका भट्टराई, सञ्जु क्षेत्री सहितका खेलाडीहरु रहेका थिए | यसै गरि पुरुष भलिबलमा आठ टिम सहभागी रहेका थिए । फाइनल खेलमा मगर समाजलाई पराजित गर्दै टिम नाइटले विजय हासिल गरेको थियो । जसमा केशव विष्ट, टेक अधिकारी, चिरन बानिया, नवीन बानिया, आदिप मगर, प्रणिश पौड्याल, दिनेश डुङ्ग्रा, बिमल कार्की दिनेश मगर, जोसिफ रहेका थिए । विजेता टिमलाई पाच सय डलर तथा प्रमाणपत्र तथा उप विजेतालाई दुइ समय पचास डलर तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

साझ भएको सांस्कृतिक कार्यक्रममा नेपालको सबै भाषा जातजाति झल्कने गित संगित नृत्यहरु प्रदर्शन गरिएको थियो । भने सोहि क्रममा सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो । साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक धमला, एनआरएनए अष्ट्रेलियाकी उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा, साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्का, मुख्य प्रायोजक बुमर्याङ इन्टरनेशनलमा आशिष वाग्ले, एडिलेड खुकुरी क्लवका अध्यक्ष कुमार पुष्प गुरुङले सहयोगीहरुलाई प्रमाण पत्र सहित खादा लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा गुरुङ महिलाहरु शीरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाएर सजिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो, कछाड र पटुकी लगाएका थिए । भने कतिपय सहभागीले आ-आफ्ना सांस्कृतिक पहिचान झल्कने पोशाक सहित उपस्थित भएका थिए । मञ्चको सांस्कृतिक कार्यक्रम र सहभागीका पोशाकले मिनि नेपाल फेस्टिवलकै झल्कोदिने माहोल निर्माण भएको थियो ।

कार्यक्रम संयोजक थीर गुरुङले दैनिकी संग कुरा गर्दै सहभागी तथा प्रायोजक सहित सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । तमु घी साउथ अष्ट्रेलिया सचिव अनिता गुरुङले कार्यक्रममा प्रत्यक्ष रुपमा एक हजार भन्दा बढिको सहभागीता सहित एडिलेडको सिङ्गो नेपाली समुदायले केहि न केहि रुपमा सहयोग गरेकोमा धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग पाउने विश्वास व्यक्त गरिन । सचिव गुरुङले झण्डै दुई महिना देखिको अथक तयारी विचमा आयोजक, स्वयंसेवकहरुले खेलेको भुमिका प्रशंसनीय भएको बताईन् ।

प्रकाशित मिति : १६ पुष २०७९, शनिबार १३:२३