२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाे छः शेखर गोल्छा


१२ पुस, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिङ्गो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्ने बताएका छन् ।

अर्थतन्त्रलाई चलायमान गर्न तत्काल विशेष कदम चाल्न सुझाव दिँदै उनले ब्याजदरलाई घटाएर स्थायित्व दिनुपर्ने, तरलताको समस्या समाधान गर्नुपर्ने, लगानी घट्दै गएको अवस्थामा सुधार ल्याउन आग्रह गरे । अर्थतन्त्रलाई सही मार्गमा ल्याउन राज्यका विभिन्न निकायको ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

मुलुकको अर्थतन्त्र अहिलेसम्मकै अप्ठ्यारो अवस्थामा पुगेको जिकिर गर्दै उनले तत्काल अर्थतन्त्र सुधारको दिशामा ध्यान केन्द्रित गर्न आग्रह गरे । “तपाईं आएपछि दुई दिनमै पूँजी बजारले सकारात्मक सङ्केत गरेको छ । समग्रमा अर्थतन्त्र अप्ठ्यारोमा छ, निजी क्षेत्र समस्यमा छ, चालू खर्च राजस्वले मात्रै धान्न सक्ने अवस्थामा छैन”, अध्यक्ष गोल्छाले भने ।

अर्थतन्त्रमा बहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत् पनि समस्या सम्बोधन हुन नसकेको र विशेषगरी समग्र बैंकिङ समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १५:५२