७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले हात पार्याे दोस्रो जित


२० कार्तिक, काठमाडाैं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ । त्रिवि खेल मैदान, कीर्तिपुरमा आइतबार भएको खेलमा लुम्बिनीले प्रदेश १ लाई ३९ रनले पराजित गरेको हो । जितको लागि २९१ रनको लक्ष्य पाएको प्रदेश १ ले ४६ ओभरमा २५१ रन जोड्दा अलआउट भयो ।

प्रदेश १ का सिद्धान्त लोहनीले ७४, अंकित सुवेदीले ५२, निरज मुखियाले ४६ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २९० रन बनाएको थियो ।

जसमा कप्तान देव खनालले अर्धसतकीय पारी खेल्दै ८९ रन बनाए । यस्तै आकाश त्रिपाठीले ४५,सन्दीप रजालीले ४४, बिशाल विक्रम केशीले ३२, कृष्ण कार्कीले ३१ रन बनाए । जितसंगै लुम्बिनी २ खेलबाट चार अंक जोड्दै तेस्रो स्थानमा पुगेको छ । मधेश पनि समान ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल पुलिस क्लब ६ अंकका साथ यो समूहको शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै मुलपानी क्रिकेट मैदानमा आइतबार नै त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको छ । आर्मीले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो । त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीको लागि कप्तान विनोद भण्डारीले अर्धशतकीय इनिङ खेले ।

उक्त जितसँगै आर्मीले ३ खेलबाट ४ अंक बनाउँदै सेमिफाइनलको सम्भावना कायम राखेको छ । पराजित गण्डकीको ४ खेलबाट ५ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ । यस समूहबाट एपीएफ क्लब तीन खेल जितेर सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार १६:५६