२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

निहारिका राजपूत घटना: छोराको डिएनए शिवराजसँग मिल्यो

१८ कार्तिक, काठमाडाैं । निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी शिवराज श्रेष्ठसँग मिलेको छ। शुक्रबार विधि विज्ञान प्रयोगशाला काठमाडौंले  उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको जाहेरीवाली निहारिकाकी वकिल रिंकु यादवले जानकारी दिइन्।

निहारीकाले नशालु पदार्थ सेवन गराएर शिवराजले बलात्कार गरेपछि गर्भ बसेको भन्दै जाहेरी दिएकी थिइन्। तर शिवराजले भने ती बच्चा आफ्नो नरहेको दावी गर्दै आएका थिए। बच्चा शिवराजकै रहेको निहारीकाको दावीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुबैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो। त्यसपछि उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौंमा डिएनए परीक्षण भएको थियो। जिल्ला प्रहरी, सरकारी, वकिल हुँदै उच्च अदालतमा डिएनए परिक्षणको रिपोर्ट आएको हो। शिवराज साधारण तारिखमा छन्। उनको कात्तिक २५ गते तारेख छ।

प्रकाशित मिति : November 4, 2022 at 3:31 pm