पुराना कांग्रेसीको राजनीतिमा सुनिलबहादुर थापाको धावा, शक्तिशाली बन्दै एमालेका राजेन्द्र राई
-अर्पण कार्की
बुबा सुर्यबहादुर थापाको आर्शिबादबाट राजनीतिमा होमिएका सुनिलबहादुर थापाको राजनीतिक इतिहास खासै लामो छैन । त्यो भन्दा लामो इतिहास संयुक्त राष्ट्र संघको परियोजनामा काम गरेको छ । करिब तीन दशक अन्तर्राष्ट्रिय परियोजनामा काम गरेका छन् । यसको तुलनामा उनको राजनीति यात्रालाई लामो मान्न सकिन्दैन ।
बुबा थापाकै प्रभावले पहिले राप्रपाके केन्द्रिय सदस्य र पछि महामन्त्रीको जिम्मेवारी पाएका सुनिलबहादुरलाई धनकुटामा बुबा थापाको उतराधिकारी भनेर चित्रण गरिएको थियो । तर बुबाले तयार गरेको राजनीतिक बाटोलाई पुर्णविराम लगाएर उनी नयाँ यात्रामा निस्किए । उनको नयाँ यात्राको बाटो सुन्दा सहज होला । तर ब्यवहारमा कठिन र चुनौतिपुर्ण देखिन्छ ।
बुबा थापाको ७० वर्ष लामो राजनीतिक जीवनमा धनकुटामा एकछत्र राज गरे । कांग्रेस र कम्युनिष्टका कार्यकर्ता उनको मतदाता बनिरहे । स्थानीय निकायको निर्वाचनमा एउटा वडा सदस्य समेत जित्न नसक्ने राप्रपाले धनकुटाको क्षेत्र नं। २ मा सांसद निरन्तर जिति रह्यो । ठुला राजनीतिक परिवर्तनपछि २०१५, २०४८ र २०६४ सालमा भएका निर्वाचनबाहेक सबै निर्बाचनमा सुर्यबहादुर थापाले जिते । तर उनको मृत्युपछि बिरासत थाम्न आएका सुनिलबहादुरसँग त्यो क्षमता देखिएन । पुर्ब पञ्चले समेत अपमानित भएको महसुस गरे । सुनिलबहादुरसँगको टकरावले राप्रपाको धनकुटा जिल्ला कार्यसमितिका अध्यक्षदेखि सदस्यसम्मले सनिलबहादुर थापाको कांग्रेसको राजनीतिक यात्रालाई अस्वीकार गरे।
बुबा थापाले मुगा गाउँबाट उठाएको राजनीतिको विरासत जोगाउने उद्घोष गर्दै कांग्रेस प्रबेश गरेका सुनिलबहादुरलाई कांग्रेसनै पहिलो चुनौति हो । बुबाले जस्तै कांग्रेसका नेता कार्यकर्तालाई मतदाता बनाउने योजनासहित कांग्रेस प्रवेश गरेका थापालाई सहज भने पक्कै छैन । ७५ बर्षको राजनीतिक इतिहास बोकेको कांग्रेसभित्र त्यतिनै इतिहास बोकेका नेता कार्यकर्ता जिवित छन् । कांग्रेसभित्रको अन्तरकलहबाट उम्म्रिएका नेता कार्यकर्ताले थापाको राजनीतिक भबिष्य निर्धारण गर्ने निश्चित छ । कांग्रेसमा जीवन विताएका नेता कार्यकर्ताले अहिले राप्रपाबाट आएका र विपीको विचारलाई नबुझेकालाई नेता मान्न पर्ने र प्रचार हिड्नु पर्ने बाध्यता छ ।
थापाको कांग्रेस प्रवेशसँगै पार्टीको केन्द्रीय नेतृत्व र प्रतिनिधीसभाको टिकट हात परेकाले कांग्रेसको राजनीति धानेर आएका मनोहरनारायण श्रेष्ठ, हरिकुमार राई, कमोट फागो, अन्जना ताम्ली, विकास प्रधान, आनन्दसन्तोषी राई, टीका भण्डारीलगायतको राजनीतिक भविष्यमाथी धावा बोलेको छ । संधै बुबा थापालाई चुनाव जिताएको अरोप खेपेका कांग्रेस कार्यकर्ता र रित्तिन्दै गएको कांग्रेसको संगठनमा सुनिलबहादुर थापाले झनै संकटमा पारेको तथ्य छर्लैगै देखिन्छ ।
पैसाको बलमा राजनीति गरिरहेका सुनिलबहादुर थापाका लागि संस्थापन र संस्थापनइतर कांग्रेसका कार्यकर्ताको अन्तरसंघर्षमा राजनीतिक हैसियत प्राप्त भएको छ । एकले अर्के समुहलाई स्वीकार नगर्ने अवस्थामा रहेको बेला दुई समुहमा विभाजित कांग्रेसलाई साथमा लिएर हिड्न उनलाई मुस्किल छ । कांग्रेसमा तमोर वारी र पारी, बजार र गाउँ, हलो कांग्रेस र रुख कांग्रेस भन्ने आरोप प्रत्यारोपमा श्रृंखला लामो समयदेखि छ । त्यसैले धनकुटामा कांग्रेस जगाउने आशा गरिएका थापाको यात्रा सहज छैन ।
सुनिलबहादुरसँगै धनकुटामा राप्रपाका सबै नेता कार्यकर्तापनि सँगै हुन्छन् भन्ने धेरैको अनुमान थियो । तर बुबाको राजनीतिक सफलतामा सारथी बनेर हिडेका कुमारबहादुर थापा, टीकाप्रसाद घिमिरे, धर्मध्वज राई, श्याम गुरुङ, रेवतराम भण्डारी, पबित्रा श्रेष्ठलगायतका ३१ जना नेताले राप्रपा पुर्नगठन गरेर चुनावी मैदानमा होमिएका छन् । राप्रपाका ती नेता कार्यकर्तालाई कस्लाई के दिँदा भोट आउँछ भन्ने राम्रो हेक्का छ । भोटको राजनीतिमा पुर्बपञ्चहरुकै समुह थापाको लागि काँडेतार बन्नेछ ।
यी दुई चुनौति पार नगरेसम्म सुनिलबहादुरले धनकुटामा नेकपा एमालेको विरासतमा धावा बोल्नु मुर्खता मात्रै हुनेछ । धनकुटामा नेकपा आफैमा शक्तिशाली छ । नेकपाको बलियो संगठन र स्थिर मतदाता छ । त्यहिकारण नेपालमै शक्तिशाली गठबन्धन धनकुटामा हुँदासमेत एमालेको विजयलाई रोक्न सकेन ।
सुनिलबहादुरसँग भिड्न यसपटक पनि नेकपा एमालेका तर्फबाट निवर्तमान सांसद राजेन्द्रकुमार राई चट्टान झै उभिएका छन् । बलियो संगठन र जनतासँग घुलमिल भएका राई अहिलेका सबैभन्दा बलियो उम्मेदवार हो । गठबन्धनको नाममा विद्रोह आँधिबेहेरी खेपिरहेको माओबादी केन्द्र र कमजोर संगठन भएको नेकपा एससँगको गठजोड गतिलो देखिन्दैन । प्रदेशमा उठेका यी दुवै उम्मेदवारलाई कांग्रेसले ९० प्रतिसत मत दिनु पर्छ । यसको तुलनामा एमालेका प्रदेशमा उठेका जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली र सचिव निरन राईको हैसियत, जनसम्पर्क र संगठन शक्तिशाली देखिन्छ ।
प्रकाशित मिति : 12:16









