हँसिया-हतौडामा भोट नहाल्ने कांग्रेसीलाई एमाले प्रवेशको अभियान चलाउनुपर्छः पार्वत गुरुङ
१७ कार्तिक, दोलखा । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री पार्वत गुरुङले दोलखामा माओवादी केन्द्रका उम्मेद्वारलाई हँसिया हथौडामा भोट नहाल्ने कांग्रेसका लोकतन्त्रवादी नेता कार्यकर्तालाई एमाले प्रवेश गराउने अभियान चलाउनुपर्ने बताएका छन् ।
जिल्ला पार्टी कार्यालय, दोलखामा बिहीबार कांग्रेस गौरीशंकर गाउँपालिका सचिव अर्जुन ओली र साविक मार्वु गाविसको सिंगो गाउँ कमिटीलाई एमालेमा प्रवेश गराउँदै पूर्वमन्त्री गुरुङले दोलखामा एमालेको वर्चश्व रहेको कुरा पुन:स्थापित भएको बताए । यसले ४ मंसिरको निर्वाचनमा पार्टीको विजयलाई थप सुनिश्चित गरेको उनको दाबी थियो ।

‘दोलखामा धेरै इमान्दार लोकतन्त्रवादी, हिंसा नरुचाउने साथीहरु हुनुहुन्छ, उहाँहरुले माओवादीका उम्मेद्वारहरु हसियाँ हथौडामा भोट हाल्ने मनस्थितिमा हुनुहुन्न’, गुरुङले भने,‘त्यस्ता साथीहरुलाई लोकतान्त्रिक पार्टी एमालेमै स्पेस र भविष्य छ, त्यसैले हामीले सबै गाउँ र वडाहरुमा कांग्रेसका नेता–कार्यकर्ता प्रवेश अभियान चलाउनुपर्छ ।’
कार्यक्रममा एमाले केन्द्रीय सदस्य रचना खड्का, सरस्वती बस्नेत, प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिबाकोटी, प्रदेशसभाका उम्मेद्वारहरु नरबहादुर श्रेष्ठ, भरतबहादुर केसीलगायत सहभागी थिए ।
प्रकाशित मिति : November 3, 2022 at 4:02 pm









