बचतकर्तालाई १० प्रतिशत व्याज दिएपछि २७ बैंकले एनआईसी एसियासँगको कारोबार रोके
२५ फागुन, काठमाडौँ । बचतकर्तालाई १० प्रतिशत व्याज दिएपछि २७ बैंकले एनआईसी एसियासँगको कारोबार रोकेका छन् । बैंकर संघको निर्णय अनुसार २७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँगको अन्तर बैंक कारोबार बन्द गरेका हुन ।
बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा संघले तोकेको सीमा नाघेको भन्दै कारोबार रोकेका हुन । गत शुक्रबार संघमा आवद्ध बैंकहरुले बचत खातमा ८ र एक वर्षे मुद्धतिमा ११ प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्ने सहमति गरेका थिए ।
तर एनआइसी एशियाले बचतको ब्याज १० प्रतिशत र मुद्धतिमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेपछि बैंकर्स संघले अन्तर बैंक वित्तीय कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
सिइओले जागिर छाडे
एनआईसीको सञ्चालक समितिले ब्याजदर बढाउने निर्णय गरे लगत्तै बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजिनामा दिएका छन । उनले बैंकर्स संघमा गरेको प्रतिवद्धता विपरीत बोर्डको निर्णय आएपछि नैतिकताको कारण देखाउँदै राजीनामा दिएको बताइएको छ ।
प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार १४:३५