माओवादी केन्द्रका ४ केन्द्रीय सदस्य र लेखा आयोग सदस्य पार्टीबाट निष्कासित
१२ कात्तिक, काठमाडाैं । सत्ता गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका ५ जना नेता कारबाहीमा परेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा विशेष परिपत्र जारी गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको बताएका छन् ।
प्रचण्डले हस्ताक्षर गरेर जारी गरिएको परिपत्रमा भनिएको छ, ‘नेकपा माओवादी केन्द्र सहितको गठबन्धनका उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दिने केन्द्रीय समिति सदस्य तथा केन्द्रीय निकायका सदस्यहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जानकारी गराइन्छ ।’
कारबाहीमा पर्नेमा केन्द्रीय सदस्य हेमराज भण्डारी, अशोककुमार मण्डल, वीरेन्द्र यादव, दीपेन्द्रबहादुर पुन मगर, केन्द्रीय लेखा परीक्षण आयोग सदस्य काशिचन्द्र बराल छन् ।
भण्डारी धनकुटामा स्वतन्त्र उम्मेदवार बनेका छन् भने मण्डल सप्तरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका छन् । यस्तै वीरेन्द्र यादव पर्सा ४(१) बाट मधेश प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका छन् । यसैगरि दीपेन्द्रबहादुर पुन मगर लुम्बिनी प्रदेशसभा सदस्यका लागि रोल्पा १(२) बाट स्वतन्त्र उम्मेदवार बनेका छन् ।
काशिचन्द बराल प्रतिनिधिसभा सदस्यका लागि कालीकोटबाट स्वतन्त्र उममेदवार बनेका छन् । अन्यत्र पनि पार्टीका सदस्यहरू गठबन्धनविरुद्ध उम्मेदवार बनेका, त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक रहेको पाइएमा कारबाहीका लागि केन्द्रीय कार्यालयमा सिफारिस गर्न प्रचण्डले भनेका छन् ।
प्रकाशित मिति : October 29, 2022 at 6:25 pm









